राजविराज । नेपाल र भारतबीचको विकास सहकार्यअन्तर्गत झापामा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ ।
गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय दूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन तथा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण हुन लागेको हो । यस परियोजनाले स्थानीय तहमा शिक्षा पूर्वाधार सुदृढ गर्दै विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत साना तर प्रभावकारी परियोजनामार्फत शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको छ ।








