भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीका घरटहरा हटाउन सुरु गरिएको छ ।
आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका १३०० सय नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।
सात सय ७७ घरटहरा भएको यस बस्तीमा यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए ।
त्यस क्रममा बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि अवरोध गरिएको थियो । केही सुकुमबासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए।
डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।







