काठमाडौं । सरकारले आज पनि काठमाडौं उपत्यकाका सरकारी जमिन कब्जा गरी बस्दै आएका सुकुम्बासी परिवारहरुलाई उनीहरुकै व्यवस्थापनका लागि हटाउने कार्य जारी राखेको छ ।
बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई आज पनि निरन्तरता दिएको हो।
शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बुद्धचोक र वडा न. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्ने काम जारी छ । बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए।
यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि शनिबार बाँकी रहेका काठमाडौं वडा नं.९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।
हिजो काठमाडौँ वडा नं.११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो। बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैबीच बस्ती छाडेर सम्पर्कमा आएकाहरूलाई सरकारले ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल गरी अस्थायी सेल्टरमा लगेर व्यवस्थापन गरेको छ ।
स्क्रिनिङका लागि भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली खटिएका थिए । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो ।
सम्पर्कमा आएकाहरूलाई सरकारले कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगेर राखेको छ ।
यसबाहेक उपत्यकाका विभिन्न ठाउँबाट विस्थापित हुने सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने व्यवस्था सरकारले मिलाएको छ ।
अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था समेत गरेको छ । महानगरले उनीहरूलाई प्याकेटको खाना व्यवस्था गरेको छ । शनिबार साँझ र आज विहानका लागि बाहिरबाट ल्याइएको प्याकेटको खाना खुवाइएको छ ।
अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई आइतबार बिहान चिया र बिस्कुटको व्यवस्था गरिएको थियो । तर केहीले त्यो पनि खान नपाएको भन्दै गुनासो गरेका छन् । मध्यान्ह १२ बजे खाना आएपछि लाइन लगाएर खानाको प्याकेट वितरण गरिएको थियो ।
वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडा बोकेका उनीहरूले एक प्यकेट खानाले पेट नभरिने भन्दै आक्रोश पोखेका थिए ।







