एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र सम्भावित युद्ध अवस्था चाँडै अन्त्य हुने दाबी गरेका छन्।
बुधबार साँझ आयोजित रिपब्लिकन नेता बर्ट जोन्सको समर्थन कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका इरानसँग होर्मुज जलमार्ग र आणविक कार्यक्रमसम्बन्धी सम्झौताको प्रयासमा रहेको बताएका हुन् ।
उनले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने अमेरिकी अडान दोहोर्याउँदै वर्तमान कदम “सही र आवश्यक” भएको दाबी गरे।
ट्रम्पले भने, ‘के भइरहेको छ भनेर हेर्दा तपाईंहरूले बुझ्नुहुन्छ, हामी यो अत्यन्त महत्वपूर्ण कारणले गरिरहेका छौं। हामी इरानलाई आणविक हतियार बनाउन दिन सक्दैनौं। धेरै मानिसहरूलाई थाहा छ, हामी सही काम गरिरहेका छौं र यो चाँडै अन्त्य हुनेछ।’
सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावको जवाफ दिनेछ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आफूहरू यस अमेरिकी प्रस्तावमा पाकिस्तानी मध्यस्थकर्ताहरूसँग विचार साझा गर्ने बताए।







