एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने चेतावनी दिएका छन् ।
भारत र पाकिस्तानबीच गएको वर्ष भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको भन्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गरेका हुन् ।
गएको वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणपछि दुई आणविक शक्ति सम्पन्न छिमेकी देशबीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो ।
भारतले त्यो आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो । यो घटनापछि दुई देशबीच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो ।
भारतले पहलगाम आक्रमणको जवाफ दिन भन्दै गएको वर्षको मे ७ मा सैन्य कारबाही शुरू गरेको थियो । त्यसपछि दुवै देशबीच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए । भारतीय सेनाले सञ्चालन गरेको यो कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो ।
आज यो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गरेको वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताए । मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताए । उनले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याए ।







