काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालको शानदार जित भएको छ ।
त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध १२२ रनको जित निकालेको हो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६ रनको इनिङ खेले । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरे ।
नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७, शेहान जयसूर्याले २६, कप्तान साइतेजा मुक्कामल्लाले २२, मिलिन्द कुमारले १२ र सौरभ नेत्रावल्करले १० रन जोडे । आठौँ विकेटका लागि सञ्जय र नोत्थुषबीच ७० रनको साझेदारी भएको थियो । दोस्रो विकेटका निम्ति शायन र शेहानले ५३ रनको साझेदारी गरे ।
नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई विकेट हात पार्दा सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रनको योगफल खडा गरेको थियो ।
नेपालका इशान पाण्डेले ८४ रनको इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रनको योगदान गरे । उनले ३६ बलमा समान चार चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ र कुशल भुर्तेलले २९ रन जोडे ।
आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन बनाए । तेस्रो विकेटका लागि इशान र रोहितले ११० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलबीच ६९ रनको साझेदारी भएको थियो । अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए । रुसिल उगकर, मिलिन्द कुमारले समान एक विकेट हात पारे ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको शृङ्खलामा भएका पाँच खेलमा दुई खेलमा स्कटल्याण्ड, दुईमा नेपाल र एकमा अमेरिका विजयी भएको छ ।
पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
तेस्रो खेलमा नेपाले बदला लिँदै स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो भने चौथो खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो। आजको अन्तिम खेलमा पनि नेपालले जित हात पारेको हो ।
यसअघि अघिल्लो यूएई र ओमानविरुद्ध भएको सिरिजमा नेपालले चारमध्ये तीन खेल जितेको थियो ।







