काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र विभिन्न निर्माण कम्पनीहरूबीच १४ वटा विद्यालय भवन निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोग अन्तर्गत गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने ती विद्यालयहरूका लागि नेपाल सरकारलाई नेरु ५६ करोड २ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराइएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरू तथा निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

निर्माण हुने विद्यालयहरू नेपाल सरकारद्वारा निर्धारित भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ। विद्यालय भवनमा फर्निचरसहितका कक्षाकोठा, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना लगायतका सुविधा रहनेछन्।

यसअघि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत ८ जिल्लाका ७० विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न गरी सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ।

भारत सरकारले नेपालको सामाजिक–आर्थिक विकास तथा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको