सुरक्षाकर्मीको मिलेमतो रहेको स्थानीयको आरोप, राजस्वमा ठूलो क्षति

राजविराज । सप्तरीको संग जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप सार्वजनिक भएको छ । सीमाक्षेत्र हुँदै दैनिक रूपमा विभिन्न उपभोग्य सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार भारतबाट खाद्यान्न, किराना सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक सामान, सौन्दर्य सामग्री लगायतका वस्तु रातिको समयमा अवैध रूपमा नेपाल भित्र्याइँदै आएको छ । सीमामा कडाइ हुनुपर्ने समयमा नै तस्कर समूह सक्रिय हुने गरेको र केही सुरक्षा निकायका कर्मचारीकै संरक्षणमा तस्करी सञ्चालन भइरहेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयवासीले सीमाक्षेत्रमा खटिएका केही सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीसँग मिलेमतो गरेर तस्करी सञ्चालन भइरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार तस्करी कार्यमा संलग्न व्यक्तिहरूले सुरक्षा निकायसँग ‘सेटिङ’ मिलाएर सामान ओसारपसार गर्ने गरेका छन् ।

स्थानीयले सार्वजनिक गरेको विवरणअनुसार उमेश कुमार साह, मंजु साह, रविन्द्र साह तथा सरजुग साह लगायतका व्यक्तिहरू सीमावर्ती नाकाबाट नियमित रूपमा सामान ओसारपसारमा सक्रिय रहेको आरोप छ । यद्यपि उनीहरूमाथि लागेको आरोपबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने भइसकेको छैन ।

स्थानीयका अनुसार खुला सीमाको फाइदा उठाउँदै अवैध व्यापार बढ्दा राज्यले ठूलो राजस्व गुमाइरहेको छ । भन्सार छलेर सामान भित्रिँदा वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीसमेत मारमा परेको उनीहरूको भनाइ छ । सस्तो मूल्यमा तस्करीका सामान बजारमा आउँदा स्थानीय व्यवसायीको व्यापार प्रभावित भएको गुनासो छ ।

सीमाक्षेत्रमा प्रभावकारी निगरानी नहुँदा तस्करी नियन्त्रणभन्दा बाहिर जान थालेको भन्दै स्थानीयले सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन् । सीमामा खटिएका सुरक्षाकर्मीको गतिविधिमाथि समेत छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

यता, सरोकारवाला निकायले भने सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको दाबी गर्दै आएको छ । तर स्थानीय भने व्यवहारमा नियन्त्रण प्रभावकारी नभएको बताउँछन् ।

स्थानीयले तस्करी नियन्त्रणका लागि संयुक्त सुरक्षा निगरानी, नियमित अनुगमन तथा दोषीमाथि कडा कारबाही आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको