राजविराज । राजविराज नगरपालिकाभित्रको बिटौरी जग्गामा बसोवास गर्दै आएका हजारौँ परिवार जग्गाधनी पुर्जाको माग गर्दै आन्दोलनरत रहेका बेला केही व्यक्तिले भने सोही प्रकृतिको जग्गाको पुर्जा प्राप्त गरेको प्रमाण सार्वजनिक भएको छ।
आन्दोलनकारीका अनुसार राजविराज–७ स्थित एक बिटौरी जग्गाको पुर्जा अशोकचन्द्र अग्रवालको नाममा जारी गरिएको छ। जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले नापी कार्यालयले आर्थिक लाभका आधारमा केही व्यक्तिलाई पुर्जा दिएको आरोप लगाउँदै सबैलाई समान आधारमा पुर्जा दिन माग गर्नुभएको छ।
नापी कार्यालय प्रमुख शत्रुघन यादवले भने बिटौरी जग्गा सरकारी स्वामित्वको भएकाले पुर्जा दिन नमिल्ने बताउँदै गलत प्रक्रियाबाट जारी भएका पुर्जा बदर हुन सक्ने प्रतिक्रिया दिनुभयो।
यसैबीच, जग्गाधनी पुर्जाको माग गर्दै नगरपालिकामा गरिएको तालाबन्दी र धर्ना जारी रहेकाले विकास निर्माण, सरसफाइ तथा प्रशासनिक कामकाज प्रभावित भएको छ। आन्दोलनकारीले थप सात दिनका विभिन्न विरोध कार्यक्रमसमेत घोषणा गरेका छन्।







