राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित वडा कार्यालयमा स्थानीयवासीले लगाएको तालाबन्दी बुधबारसम्म पनि कायम रहेको छ। रासायनिक मल वितरणमा अनियमितता, कालोबजारी, ट्रान्सफर्मर अन्यत्र सारिएको, मर्मत–सम्भार शीर्षकको रकम दुरुपयोग भएको तथा विगत चार वर्षको विकासीय बजेटको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीयले सोमबारदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय किसानहरूले खेतीपातीको मुख्य समयमा आवश्यक रासायनिक मल उपलब्ध गराउन पालिका असफल भएको आरोप लगाएका छन्। उनीहरूले समस्या समाधानका लागि भएको छलफलमा गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव स्वयं उपस्थित नभई उनका पति तेजनारायण यादव सहभागी भएर राजनीतिक हस्तक्षेप गर्न खोजेको आरोपसमेत लगाएका छन्।
तालाबन्दीपछि स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालाबीच पटक–पटक वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्किन सकेको छैन। सोमबार भएको पहिलो छलफलमा पनि उपाध्यक्षको सट्टा उनका पति उपस्थित भएपछि स्थानीयले निर्वाचित जनप्रतिनिधि स्वयं उपस्थित हुनुपर्ने अडान राखेका थिए।
त्यसपछि मंगलबार दिउँसो १ बजे पुनः छलफल आयोजना गरिएको थियो। उक्त छलफलमा तेजनारायण यादवले मल वितरणसम्बन्धी कागजात प्रस्तुत गरे पनि स्थानीयले ती कागजात फर्जी भएको दाबी गरेका छन्। त्यसको जवाफमा उनले आगामी शुक्रबार मल वितरणको सम्पूर्ण विवरण सार्वजनिक गर्ने बताएका छन्।
यसैबीच वडा अध्यक्ष कपलेश्वर साहले आगामी साउन २० गते वडाको सम्पूर्ण आय–व्यय तथा विकास निर्माणसम्बन्धी हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
वडा अध्यक्ष साहका अनुसार खुदिबखारी गाउँमा रासायनिक मल वितरण उपाध्यक्षका पति तेजनारायण यादवको निर्देशनमा हुँदै आएको र सोही कारण सबै किसानले मल प्राप्त गर्न नसकेको अवस्था सिर्जना भएको हो। उनले मल वितरण प्रक्रियामा वडा सदस्य गजेन्द्र साहसमेत संलग्न रहेको र हाल उनी सम्पर्कविहीन रहेको जानकारी दिए।
तत्कालीन सखडा गाविसका पूर्व उपप्रधानपञ्च गोविन्द मण्डलले किसानले समयमा मल नपाउनु, ट्रान्सफर्मर अन्यत्र सारिनु, मर्मत–सम्भार शीर्षकमा बजेट खर्च भएको देखाइए पनि काम नभएको तथा चार वर्षदेखि विकास बजेटको विवरण सार्वजनिक नगरिनु दुःखद रहेको बताए।
यस्तै, गाउँपालिका अध्यक्षका पूर्व प्रत्याशी कुलानन्द यादवले पालिकाभित्र डीएपी मल कालोबजारीमार्फत प्रति बोरा रु. ४,००० देखि ४,५०० सम्ममा बिक्री भइरहेको आरोप लगाए।
स्थानीय सदानन्द साहले पालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा खुदिबखारीस्थित हाइपावरको ट्रान्सफर्मर अन्यत्र सारिएको आरोप लगाएका छन्।
स्थानीयले उठाएका मागको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही, किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था तथा विगतका विकासीय बजेटको पारदर्शी हिसाब सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।







