राजविराज ।सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेका मधेश र पूर्वी तराईका जिल्लाहरूमा प्रशासनले कर्फ्यु खुकुलो पार्न थालेको छ।
शनिबार सुनसरीका १० स्थानीय तह र धनुषाको जनकपुर क्षेत्रमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ भने सिरहाको लहानमा पनि कर्फ्यु हटाइएको छ। गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ।
सुनसरी प्रशासनले शनिबार बिहान ८स्३० बजेदेखि इटहरी, रामधुनी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका तोकिएका क्षेत्रमा जारी कर्फ्यु हटाउँदै साँझ ५ बजेसम्म निषेधाज्ञा लागू गरेको छ। साउन १२ गते देवानगञ्जमा भएको हिंसात्मक घटनापछि ती क्षेत्रमा कर्फ्यु लगाइएको थियो।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ।







