राजविराज । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्ने उद्देश्यले आइतबार बिहान राजविराजमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ।
शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बसेको पापडको बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र त्यसपछि सप्तरीमा विकसित घटनाक्रमबारे गम्भीर छलफल गर्दै उक्त निर्णय गरेको हो।
बैठकले गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरेको छ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवका अनुसार बैठकले वर्तमान परिस्थितिमा शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको निष्कर्ष निकाल्दै साउन १७ गते आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो।
पापड सप्तरीले उक्त र्यालीमा सबै जातजाति, धर्म, समुदाय, भाषा, संस्कृति तथा विभिन्न क्षेत्रका नागरिकलाई सहभागी भई शान्ति र सद्भावको सन्देश प्रवाह गर्न आग्रह गरेको छ।
यसैगरी बैठकले जिल्लामा देखिएको खाना पकाउने ग्यास तथा इन्धनको अभाव तत्काल समाधान गरी सहज आपूर्ति सुनिश्चित गर्न स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय पनि गरेको अध्यक्ष देवले जानकारी दिए।







