राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्ति–सुव्यवस्था, अमनचयन तथा धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिक, नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालासँग संयमता अपनाउन आग्रह गरेको छ।
शनिबार जारी गरिएको सार्वजनिक सूचनामार्फत प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा तथा उत्तेजना बढाउने, शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रि–पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न सबैलाई अनुरोध गरेको हो।
प्रशासनले यस्ता गतिविधिमा संलग्न सामाजिक सञ्जाल प्रोफाइलहरूको निगरानी भइरहेको उल्लेख गर्दै यसअघि त्यस्ता सामग्री पोस्ट वा सेयर गरिएको भए तत्काल हटाउन आग्रह गरेको छ। साथै, कानुनविपरीत गतिविधिमा संलग्न हुने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।
त्यसैगरी, आन्दोलन वा प्रदर्शनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ।
जिल्लामा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न प्रशासनले अपिल गरेको छ।







