काठमाडौं। मधेश प्रदेश सरकारको सम्भावित नयाँ सत्ता समीकरणबारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा छलफल भएको छ।
उच्च राजनीतिक स्रोतका अनुसार संघीय स्तरमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य अन्त्य भएपछि त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि परेको छ। यही परिवेशमा मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावना र राजनीतिक सहकार्यका विषयमा दुई नेताबीच विस्तृत छलफल भएको बताइएको छ।
स्रोतका अनुसार अध्यक्ष ओलीले मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि जसपा नेपालको साथ र सहयोग आवश्यक रहेको धारणा राख्दै अध्यक्ष यादवसँग सहकार्यको प्रस्ताव गरेका छन्। मधेशमा नयाँ सरकार गठनका लागि जसपा नेपालको समर्थन निर्णायक हुन सक्ने एमालेको आकलन रहेको बताइन्छ।
हाल मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ, जसमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) समेत सहभागी छन्। तर संघीय राजनीतिक समीकरण परिवर्तनसँगै प्रदेश सरकारको संरचनामा पनि फेरबदल हुन सक्ने चर्चा तीव्र बनेको छ।
देशका अन्य छ प्रदेशमा एमालेले विभिन्न दलहरूसँग सहकार्य गर्दै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइसकेको अवस्थामा मधेश प्रदेशको राजनीतिक अवस्था भने अझै अनिश्चित रहेको छ।
यद्यपि ओली–उपेन्द्र भेटबारे दुवै पक्षले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। छलफलको निष्कर्ष र आगामी राजनीतिक निर्णयले मधेश प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।







