काठमाडौं । ताहिर अली भाटले आफू मुस्लिम परिवारबाट आएको भए पनि हिन्दू राष्ट्रको पक्षमा उभिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले राप्रपाले हिंसा वा द्वन्द्वको बाटोबाट होइन, धार्मिक सद्भाव र सहअस्तित्वको आधारमा हिन्दू राष्ट्रको अवधारणा अघि सारेको स्पष्ट पारे।
उनले भने, “सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली हौँ। विश्वमा विभिन्न धर्मका राष्ट्र छन्। अब क्रिश्चियनको छ, बुद्ध धर्मावलम्बीको छ, तर डेढ अर्ब हिन्दूहरूको राष्ट्र छैन। म मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्रकै पार्टीमा छु, र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।”
भाटले राप्रपाको हिन्दू राष्ट्रको माग कुनै समुदायविरुद्ध लक्षित नभई नेपालको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको विषय भएको दाबी गरे।
उनले सबै धर्म, समुदाय र नागरिकलाई साथमा लिएर राष्ट्रिय एकता कायम गर्दै साझा पहिचानको संरक्षणका लागि राप्रपाले हिन्दू राष्ट्रको एजेन्डा उठाउँदै आएको बताए।







