काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव ले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशनप्रति विभिन्न राजनीतिक दलका नेताहरूको ऐक्यबद्धता बढ्दै गएको छ। आमरण अनशनको क्रममा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतो तथा जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव सहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू अनशनस्थल पुगेका छन्।
अनशनस्थल पुगेका नेताहरूले अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारलाई तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका थिए। उनीहरूले अनशनस्थलमा रहेको आगन्तुक पुस्तिकामा आफ्नो धारणा समेत उल्लेख गर्दै आन्दोलन शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको अवस्थामा सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्।
आगन्तुक पुस्तिकामा लेखिएको सन्देशमा सुनसरी देवानगञ्जमा भएको घटनाले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गर्दै पीडित पक्षले उठाएका विषयलाई सरकारले बेवास्ता गर्न नहुने धारणा व्यक्त गरिएको छ। साथै, आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई वार्ताको पहल गरी यथाशीघ्र निकास खोज्न आग्रह गरिएको छ।
यसअघि सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलले काठमाडौंमा प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। माग सम्बोधन नभएपछि अध्यक्ष विनय यादवले आमरण अनशन सुरु गरेका थिए। अनशन सुरु भएको केही दिन बितिसक्दा पनि आन्दोलन जारी रहेको छ भने विभिन्न राजनीतिक दल, सामाजिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूले अनशनस्थल पुगेर ऐक्यबद्धता जनाइरहेका छन्।
राष्ट्रिय एकता दलले सरकारसमक्ष म्रतकलाई शहिद घोषणा, धाईतेलाई पुर्ण उपचार, जिहादीलाई फासी दिने कानुन, रोहिङ्या र बङ्गाली शरणार्थीलाई तत्काल देश निकाला, मुस्लिम आरक्षणा खारेजी तथा मुस्लिम आयोगको बिघटन लगायतका माग राखेको छ। दलले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग पनि दोहोर्याउँदै आएको छ।
यसैबीच, सरकारले सुनसरी घटनापछि पीडित परिवारसँग केही विषयमा सहमति गर्दै राहत, उपचार तथा अनुसन्धानको प्रतिबद्धता जनाएको भए पनि आन्दोलनरत पक्षले ती प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन नभएको दाबी गर्दै आएको छ। त्यसैले सरकारसँग औपचारिक वार्ता र बाँकी मागबारे स्पष्ट निर्णय नभएसम्म आमरण अनशन जारी रहने राष्ट्रिय एकता दलले जनाएको छ.
समाचार तयार पार्दासम्म आमरण अनशन शान्तिपूर्ण रूपमा जारी रहेको छ। अनशनस्थलमा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा समर्थकहरूको आवागमन निरन्तर रहेको जनाइएको छ भने सरकारले आन्दोलनरत पक्षसँग औपचारिक वार्ता सुरु गरेको जानकारी सार्वजनिक भएको छैन।







