राज किसोर यादव
राजविराज । प्रहरीबाट आफू अन्यायमा परेको दाबी गर्दै सप्तरीको राजविराजमा एक जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का कार्यकर्ता आमरण अनसन सुरु गरेका छन्। बोदेबरसाइन नगरपालिका–८ निवासी दिपेश ठाकुरले बुधबारदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह चोकमा अनसन थालेका हुन्। ठाकुर मंगलबार ५ हजार धराैटीमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट रिहा भएको हो ।
ठाकुरले प्रहरी प्रशासनबाट आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै घटनाबारे स्पष्ट जवाफ र न्यायको माग गरेका छन्। उनका अनुसार आफ्ना तीनवटा मुख्य प्रश्नको आधिकारिक जवाफ नआएसम्म अनसन जारी रहनेछ।
ठाकुरका अनुसार साउन १२ गते राति सप्तरीको खर्चुया बजार क्षेत्रमा साथीको प्रतीक्षामा रहेका बेला प्रहरीसँग सामान्य भनाभन भएको थियो। सोही क्रममा घटनाको भिडियो खिच्न खोज्दा ड्युटीमा रहेका असई किशोरकुमार मण्डलसहितका प्रहरी कर्मचारीले आफूलाई कुटपिट गरेको र मेरो मोबाइल समेत खोसे, त्यसपछि अभद्र व्यवहार मुद्दा लगाएर आठ दिनसम्म हिरासतमा राखी शारीरिक तथा मानसिक यातना दिएको उनले आरोप लगाए।
उनले हिरासतमा रहँदा असनमै रहेको दाबी गरेका छन्।
कानुनी राज्यमा सामान्य विवादलाई आधार बनाएर बल प्रयोग गर्नु, हिरासतमा दुर्व्यवहार गर्नु तथा नागरिकको सम्मानमाथि आघात पुर्याउनु गम्भीर विषय भएको भन्दै ठाकुरले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले ठाकुरका परिवारका सदस्यसँग जिल्ला प्रहरी कार्यालयले समन्वय गरिरहेको बताए।







