सप्तरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो, असोज ३ मा १२औँ साधारणसभा
२०८३ श्रावण २३, शनिबार ०६:५९
राजविराज । सप्तरी उद्योग वाणिज्य संघको १२औँ साधारणसभा आगामी असोज ३ गते हुने भएको छ। यही साधारणसभाबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने भएकाले जिल्लाका उद्योगी–व्यवसायीबीच चुनावी माहोल तातिएको छ।
संघले साधारणसभासँगै निर्वाचनको मिति तय गरेपछि भदौ १५ गतेभित्र सम्पूर्ण सदस्यलाई सदस्यता नवीकरण गराउन र चुनावी साधारणसभामा सहभागी हुन सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ। नवीकरण गरेका सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष लालुप्रसाद अग्रवालले अध्यक्षसहित १९ पदका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी सुरु भइसकेको जानकारी दिए। उद्योगी–व्यवसायीको चाहनाअनुसार साधारणसभा बोदेबरसाइन नगरपालिकामा तथा निर्वाचन सदरमुकाम राजविराजमा गर्ने निर्णय भएको उनले बताए।
अध्यक्ष अग्रवालले आफू पुनः उम्मेदवारी दिने वा नदिने विषयमा अन्तिम निर्णय नगरेको बताए। यद्यपि उद्योगी–व्यवसायीको चाहना भए पुनः उम्मेदवारी दिन सक्ने संकेत गरे।
आफ्नो कार्यकालमा उद्योगी–व्यवसायीको हकहित संरक्षणका लागि महत्वपूर्ण आधार तयार गरिएको दाबी गर्दै उनले व्यवसायीलाई समस्या पर्दा २४सै घण्टा उपलब्ध हुने व्यवस्था गरिएको बताए। साथै कर, व्यवसाय दर्ता तथा नवीकरण, उद्योग सञ्चालन, उत्पादन, सरसफाइ, खाद्य गुणस्तरलगायत विषयमा विज्ञमार्फत जिल्लाका विभिन्न बजार क्षेत्रमा प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए।
उनका अनुसार ती प्रशिक्षणबाट उद्योगी–व्यवसायी कानुनी व्यवस्था र व्यवसाय सञ्चालनका विषयमा बढी जानकार बनेका छन्, जसका कारण अनावश्यक कानुनी झमेलाबाट समेत धेरै व्यवसायी जोगिन सफल भएका छन्।
अग्रवालले पछिल्ला वर्षहरूमा कोरोना महामारी, विभिन्न आन्दोलन, सरकारको कर नीति तथा बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यापार–व्यवसाय गम्भीर संकटमा परेको बताए। उनका अनुसार ऋण स्वीकृतिका बेला तोकिएको ब्याजदर पछि विभिन्न बहानामा बढाइने, ऋण असुलीका क्रममा व्यवसायीमाथि आर्थिक, सामाजिक र मानसिक दबाब सिर्जना गरिने, विद्युत् महसुलमा २५ प्रतिशत जरिवाना, भन्सार महसुल वृद्धि तथा नेपाल राष्ट्र बैंकको सीआरसी (क्रेडिट इन्फर्मेसन) सम्बन्धी व्यवस्था लचिलो नबनाइएकाले व्यवसाय धराशायी बन्दै गएको छ।
यिनै समस्या समाधानलाई आगामी नेतृत्वका प्रमुख चुनावी एजेन्डाका रूपमा व्यवसायीहरूले उठाउने तयारी गरेका छन्।
यता साधारणसभा र निर्वाचनको मिति सार्वजनिक भएसँगै आकांक्षीहरूले चुनावी रणनीति बनाउन थालेका छन्। नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा उद्योगी–व्यवसायीबीच छलफल तीव्र बनेको छ भने सम्भावित उम्मेदवारहरूको सक्रियता पनि बढ्दै गएको छ।
संघका अनुसार सप्तरीका १८ वटै स्थानीय तहका गरी ६ हजार ३४ जना सदस्य रहेका छन्। तीमध्ये सदस्यता नवीकरण गरेका सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।