सुनसरी । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप र त्यसपछिको तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हालसम्म ११२ वटा घर तथा अन्य भौतिक संरचना र ६१ वटा सवारीसाधनमा क्षति पुगेको पुष्टि भएको छ।
गत साउन १० गते साँझ बोलबम यात्राका क्रममा बजाइएको डिजे बाजालाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि कप्तानगञ्जसहित जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएको थियो।
प्रहरीको प्रारम्भिक विवरणअनुसार क्षति पुगेका ११२ संरचनामध्ये २३ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४ वटा कच्ची घरमध्ये २५ वटा जलेर नष्ट भएका छन्। यसबाहेक ५० वटा घरटहरा, दुईवटा मन्दिर, पाँचवटा अन्य संरचना तथा एउटा इँटाभट्टामा समेत आगजनी र तोडफोडबाट क्षति पुगेको छ।
सवारीसाधनतर्फ ६१ वटा सवारीमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये ४४ वटा दुईपांग्रे र पाँच वटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। प्रदर्शनका क्रममा विभिन्न स्थानमा ५२ वटा मोटरसाइकल तथा स्कुटर, आठ वटा सिटी सफारी र चार वटा चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लले क्षतिको विवरण संकलन गर्ने कार्य अझै जारी रहेको बताए। उनका अनुसार प्रभावित व्यक्तिहरूबाट उजुरी आउने क्रम जारी रहेकाले वास्तविक क्षतिको विवरण अझै बढ्न सक्ने सम्भावना छ।
कप्तानगञ्जको नयाँ हटियामा भएको उक्त घटनामा गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। घटनामा घाइते भएका ४० जनामध्ये १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २५ जना उपचारपछि घर फर्किसकेका छन्।
यसैबीच, घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिको कार्यावधि १५ दिन थप गरिएको छ। गृह मन्त्रालयले बिहीबार समितिको म्याद थप गर्ने निर्णय गरेको हो। यसअघि मन्त्रालयले साउन ११ गते एक साताको समयसीमा तोकेर उक्त समिति गठन गरेको थियो। समितिले घटनाको कारण, सुरक्षा व्यवस्थापन र क्षतिको समग्र मूल्याङ्कन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।







