काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सरकारका उपलब्धिहरू सार्वजनिक गर्दै राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारको सकारात्मक संकेत देखिन थालेको बताएका छन्।

संकटदेखि समाधानसम्म’ शीर्षकमा फेसबुकमार्फत सार्वजनिक गरिएको लामो टिप्पणीमा प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द, घाटामा रहेका वा कमजोर अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानलाई पुनर्जीवित गर्ने अभियानमा सरकारले इमान्दार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र समन्वयलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।

उनका अनुसार नेपाल औषधि लिमिटेड ले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ भने विश्व स्वास्थ्य संगठनको जीएमपी (Good Manufacturing Practice) मापदण्ड प्राप्त गरेपछि बिक्री र उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको र चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको उनले बताएका छन्। आगामी तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यअनुसार हाल २५ प्रकारका नयाँ औषधि उत्पादनको तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

त्यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग मा परीक्षण उत्पादन सुरु भएको जनाउँदै प्रधानमन्त्री शाहले उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षण सफल भएपछि सरकारले नै सञ्चालन गर्ने बताएका छन्।

नेपाल वायुसेवा निगम ले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गर्दै उनले यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड रुपैयाँभन्दा बढी भएको दाबी गरेका छन्। यस अवधिमा यात्रु सीट उपयोग दर पनि बढेको र जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी किस्ता भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको बक्यौता भुक्तानी अवधि ८ महिनाबाट घटाएर २–३ महिनामा सीमित गरेको छ। दैनिक बिक्री बढेसँगै राजस्व संकलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको तथा अनावश्यक कर्मचारी सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको उनले बताएका छन्। साथै घ्यू, बटर र छुर्पी विदेश निर्यातको तयारी भइरहेको र नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिने जानकारी पनि दिएका छन्।

यस्तै, सिंहदरबार वैद्यखाना विकास समिति ले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री गरेको र गत आर्थिक वर्षमा कारोबार करिब १३ करोड रुपैयाँ पुगेको प्रधानमन्त्री शाहको दाबी छ। वैद्यखानाबाट हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको तथा चालु आर्थिक वर्षभित्र १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको पनि उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले इमान्दार नेतृत्व, सुशासन र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योगलाई समेत पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। कृषि उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको सहयोग, विश्वास र रचनात्मक साथ आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको