राजविराज । सप्तरीमा प्रारम्भिक कक्षाका विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालित तीनदिने शिक्षक क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ।
स्वास्थ्य, पोषण, शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल), राजविराजको आयोजनामा सञ्चालित ‘सप्तरीमा प्रारम्भिक कक्षाको सिकाइ अभिवृद्धि’ परियोजनाअन्तर्गत बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका का सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई तालिम प्रदान गरिएको हो।
हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादव का अनुसार तालिमको मुख्य उद्देश्य बालकेन्द्रित शिक्षण विधिलाई थप प्रभावकारी बनाउँदै प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउनु हो। उनले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रममा आधारित रहेर तालिम सञ्चालन गरिएको जानकारी दिए।
प्रशिक्षक रामसागर यादव ले तालिमले विद्यार्थीको आधारभूत साक्षरता तथा गणितीय सीप विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले प्रत्येक सिकाइलाई रोचक, आकर्षक र बालमैत्री बनाउने कक्षाकोठा वातावरण निर्माणमा शिक्षकलाई प्रेरित गर्ने विषयमा विशेष जोड दिइएको बताए।
त्यसैगरी, शिक्षा तालिम केन्द्र, बारा की प्रशिक्षक मुन्द्रीका कुमारी मण्डल ले प्रारम्भिक तथा आधारभूत तहमा अध्यापन गर्ने शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा यस्तो तालिम प्रभावकारी हुने बताइन्।
एलडीएस च्यारिटीको आर्थिक सहयोग तथा च्वाइस ह्युम्यानेटेरियन नेपाल सँगको सहकार्यमा हर्ड नेपालले सञ्चालन गरेको उक्त कार्यक्रमले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ। साथै, कार्यक्रमले दिगो विकास लक्ष्य (SDG–4) अन्तर्गत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रयासलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक ज्ञानु गौतम का अनुसार बालविकाससहित तीन चरणमा सञ्चालन गरिएको तालिमबाट कुल ८० जना शिक्षक लाभान्वित भएका छन्।
तालिममा बालकेन्द्रित शिक्षण विधि, प्रारम्भिक कक्षाका विद्यार्थीको प्रभावकारी सिकाइ, आधारभूत साक्षरता तथा गणितीय सीप विकास, बालमैत्री कक्षाकोठा निर्माण तथा शिक्षण–सिकाइलाई सहभागितामूलक र प्रभावकारी बनाउने विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।







