काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि साउन २६ गते फर्किने कार्यक्रम रहे पनि समय परिवर्तन गरिएको नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
उनका अनुसार साउन २६ गतेको उडानअनुसार देउवा राति काठमाडौं आइपुग्ने भएकाले नेता–कार्यकर्ताको सुझावपछि आगमन मिति सारिएको हो।
“उहाँ अब साउन २८ गते दिउँसो १२:२५ बजे काठमाडौं अवतरण गर्नुहुनेछ,” महतले भने।
देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रम आयोजना गरिएको पनि उनले बताए। स्वागत कार्यक्रममा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ।
स्वदेश फर्किएको भोलिपल्ट देउवाले आफूनिकट नेताहरूले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उक्त भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।







