राजविराज । सप्तरीको राजगढ गाउँपालिका–१ स्थित नहर छेउबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शुक्रबार राति १९० किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट (बिओपी) बनैनियाँ र नेपाल प्रहरीको संयुक्त टोलीले कजरातर्फ जाने नहर छेउस्थित सिमलीको झ्याङमा लुकाएर राखिएको अवस्थामा पाँच वटा बोराभित्र रहेको गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजाको तौल १९० किलो ५२० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
यसअघि पनि साउन ६ गते राति हनुमाननगर–रमपुरा मल्हनियाँ नाकाबाट भारततर्फ लैजाँदै गरिएको ३३ क्विन्टल ३२ किलो गाँजा तीन वटा सवारीसाधनसहित बरामद गरिएको थियो।
पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसारका प्रयास बढ्दै गएपछि सुरक्षा निकायले विशेष निगरानी र संयुक्त गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ।