राजविराज । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले वास्तविक घटनाभन्दा फरक विवरण उल्लेख गरी मुचुल्का तयार गरेको आरोप लागेको छ। स्थानीयले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरी कार्यालयबाटै छाडिएको दाबीसमेत गरेका छन्।
स्रोतबाट प्राप्त जानकारी तथा स्थलगत बुझाइका क्रममा स्थानीयको भनाइ र प्रहरीले सार्वजनिक गरेको विवरणबीच घटनाको समय, स्थान तथा पक्राउसम्बन्धी विषयमा स्पष्ट फरक देखिएको छ।
स्थानीयका अनुसार बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा साउन १८ गते अपराह्न करिब ३:३० बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा बुझाइएको थियो।
तर जिल्ला प्रहरी कार्यालय सप्तरीले साउन २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा भने साउन १९ गते राति १२:३० बजे बोदेबरसाइन नगरपालिका–५ को शिवचोक क्षेत्रमा नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको १६० सीसी एक्स्ट्रिम मोटरसाइकल र विभिन्न मोबाइलका सामान बेवारिसे अवस्थामा बरामद गरिएको उल्लेख गरेको छ।
प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर मोटरसाइकल र सामान छाडेर फरार भएका थिए। बरामद सामान र मोटरसाइकलको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले बताएका छन्।
तर स्थानीयको दाबी भने फरक छ। उनीहरूका अनुसार सामानसहित एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीलाई बुझाइए पनि त्यसलाई बेवारिसे सामान बरामद भएको देखाउने गरी मुचुल्का तयार गरिएको हो।
स्थानीयका अनुसार भारतबाट सामान ल्याउने कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले कार्यालयबाटै छाडेका थिए।
स्थानीय सुदी कुमार यादवले घटना दिउँसो भएको दाबी गर्दै प्रहरीले रातिको घटनाका रूपमा सार्वजनिक गरेको विवरणप्रति प्रश्न उठाए।
“दिउँसो भएको घटना प्रहरीले कसरी रातिको देखायो भन्नेमा हामी छक्क परेका छौँ। सर्वसाधारणलाई यसरी गलत विवरण दिएर झुक्याउन मिल्दैन,” यादवले भने।
घटनामा स्थानीयले पक्राउ प्रक्रिया र बरामदगीसम्बन्धी प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाउँदै वास्तविक घटना र आधिकारिक विवरणबीच देखिएको अन्तरबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यता, स्थानीयले लगाएको आरोप अस्वीकार गर्दै इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले आरोपमा कुनै सत्यता नरहेको बताए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले आफूलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी आएको बताउँदै पक्राउ गरेर छाडिएको भन्ने विषयमा प्रमाण वा विश्वसनीय जानकारी प्राप्त भए आवश्यक कारबाही गरिने बताए।
“हामीलाई बेवारिसे अवस्थामा सामान फेला परेको जानकारी आएको हो। यदि मान्छेलाई पक्राउ गरेर छाडिएको पुष्टि भयो भने आवश्यक कारबाही गर्छौं,” उनले भने।
यसैबीच, तस्करीमा संलग्न रहेको आरोप लागेका केही व्यक्तिहरूले आफूहरूलाई प्रहरीले पक्राउ गरी कार्यालयमा ल्याएर पछि छाडेको दाबी गरेका छन्। उनीहरूले तस्करीका गतिविधिका लागि प्रहरीलाई मासिक रकम बुझाउने गरिएको आरोपसमेत लगाएका छन्।







