काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि सहयोग गर्न भारतीय फरेन्सिक टोली नेपाल आइपुगेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले काठमाडौं आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेका छन्। भारतबाट आएको चौथो राहत उडानमार्फत टोली नेपाल आएको हो।

भारतीय दूतावासका अनुसार फरेन्सिक टोलीले नेपाली विज्ञ तथा सम्बन्धित निकायसँग समन्वय गरी मृतकहरूको डीएनए नमुना विश्लेषण तथा पहिचान प्रक्रियामा सहयोग गर्नेछ। विशेषगरी रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका लागि टोली परिचालन हुनेछ।

बाढीपछि नदी किनार तथा विभिन्न स्थानमा भेटिएका शवको पहिचान चुनौतीपूर्ण बनिरहेका बेला भारतीय फरेन्सिक टोलीको सहयोगले पहिचान प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

राजदूत श्रीवास्तवले टोलीका सदस्यहरूसँग भेट गर्दै नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

भारतीय पक्षले नेपालमा भइरहेको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आवश्यक सहयोग जारी राख्ने जनाएको छ। भारतले यसअघि पनि बाढी प्रभावितका लागि विभिन्न चरणमा राहत सामग्री, स्वास्थ्यकर्मी, उद्धार विज्ञ तथा अन्य आवश्यक सहयोग नेपाल पठाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको