काठमाडौँ । रसुवामा गएको भीषण बाढी तथा पहिरोपछि उद्धार, राहत र अनुगमनका नाममा फिल्डमा पुगेका कतिपय अधिकारकर्मी, अभियन्ता तथा सांसदहरूको कार्यशैलीप्रति स्थानीयस्तरमा असन्तुष्टि र जनगुनासो बढेको छ। प्रभावित क्षेत्रसम्म पुग्नुभन्दा सामाजिक सञ्जालमा प्रचार र फोटो–भिडियोमा बढी केन्द्रित भएको भन्दै स्थानीयले आलोचना गरेका छन्।
स्थानीयका अनुसार काठमाडौंबाट राहतको प्रचारसहित निस्किएका कतिपय टोली नुवाकोटको विदुरसम्म पुगेर फर्किने गरेका छन्। बाटो बिग्रिएको, पहिरो गएको, सवारीसाधन चल्न नसकेको तथा मौसम प्रतिकूल भएको कारण देखाउँदै वास्तविक प्रभावित बस्तीमा नपुगेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।
तर, यस्तै परिस्थितिबीच ‘मिसन स्माइल नेपाल’सँग जोडिएका जेन–जी युवा अभियन्ताहरूको एक टोलीले भने विकट प्रभावित क्षेत्रमा पुगेर राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। युवा अभियन्ता जस्मिन ओझाको नेतृत्वमा डा. ऋषि साह, आयुष बस्याल र रियाब बानियाँ सम्मिलित टोली वर्षा र कठिन सडकको जोखिम मोलेर रसुवाको कालिका गाउँपालिकासम्म पुगेको हो।
टोलीले कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटासँग समन्वय गरी बाढी तथा पहिरो प्रभावित परिवारका लागि स्वास्थ्य, सरसफाइ तथा आधारभूत आवश्यकताका सामग्री हस्तान्तरण गरेको जनाएको छ।
विपद्पछि हुन सक्ने पानीजन्य रोग तथा डिहाइड्रेसनको जोखिमलाई ध्यानमा राख्दै टोलीले तीन हजारभन्दा बढी जीवनजलका प्याकेट तथा पानी शुद्धीकरणका लागि पियुष घोल उपलब्ध गराएको छ। त्यसैगरी महिलाको स्वास्थ्य र मर्यादालाई ध्यानमा राख्दै सेनेटरी प्याड, ह्यान्ड स्यानिटाइजर तथा सरसफाइका लागि चुनसमेत वितरण गरिएको छ।
घाइते तथा बिरामीको प्राथमिक उपचारका लागि बेटाडिन सोलुसन, बेटाडिन गार्गल, कटन रोल, गज ब्यान्डेज, नर्मल स्लाइन, डीएनएस, डेक्सट्रोज, क्यानुला तथा इन्फ्युजन सेट लगायतका स्वास्थ्य सामग्री पनि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
टोलीले पेट दुख्ने, ग्यास्ट्रिक तथा दुखाइ कम गर्न प्रयोग हुने प्यान्टोप्राजोल, बुस्कोपान, डाइक्लोफेनाक र केटोरोलाक लगायतका औषधि तथा सिटामोल, मेट्रोनिडाजोल, अल्बेन्डाजोल, विभिन्न एन्टिबायोटिक तथा मलम, आँखाका ड्रप र लामखुट्टे नियन्त्रणका सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
स्वास्थ्यकर्मीको सुरक्षाका लागि सर्जिकल मास्क, मेडिकल पन्जा र डाक्टर गाउन तथा प्रभावित विपन्न परिवारका लागि ७० भन्दा बढी न्यानो कम्बल समेत हस्तान्तरण गरिएको छ।
राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाँदा टोलीले मुसलधारे वर्षा र पहिरोका कारण हिलो तथा जोखिमपूर्ण बनेको सडक पार गर्नुपरेको थियो। कठिन अवस्थाबीच पनि टोलीले आफ्नो गन्तव्यसम्म पुगेर स्थानीय तहसँग समन्वय गर्दै राहत सामग्री हस्तान्तरण गरेको हो।
विपद्को समयमा प्रचारभन्दा प्रभावितको आवश्यकता र प्रत्यक्ष सेवामा जोड दिनुपर्ने सन्देश यो अभियानले दिएको छ। सामाजिक सञ्जालमा फोटो तथा भिडियोमार्फत सहानुभूति व्यक्त गर्नुभन्दा वास्तविक प्रभावित बस्तीमा पुगेर आवश्यक स्वास्थ्य तथा राहत सामग्री उपलब्ध गराउनु प्रभावकारी हुने देखिएको छ।
स्थानीय तहसँग प्रत्यक्ष समन्वय गरी आवश्यकताका आधारमा राहत वितरण गर्ने युवा अभियन्ताहरूको यो प्रयासले विपद्का बेला सेवा, समन्वय र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उदाहरण प्रस्तुत गरेको छ।







