राजविराज । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपहिरोपछि जिल्लाबाट कुल ५२ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ। बाँकी ४८ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये १२ जना इन्जिनियर छन्। रोजगारीका क्रममा सप्तरीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा सञ्चालित जलविद्युत् तथा पूर्वाधार आयोजनामा पुगेका प्राविधिक जनशक्ति बाढीपहिरोको चपेटामा परेका हुन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवका अनुसार सम्पर्कविहीनको विवरण निरन्तर अद्यावधिक भइरहेको छ। उनका अनुसार सम्पर्कविहीन हुनेमा इन्जिनियर, ओभरसियर, कामदार, चालक, शिक्षक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी छन्।
१२ इन्जिनियर अझै सम्पर्कविहीन
सम्पर्कविहीन इन्जिनियरमा तिरहुत गाउँपालिका–४ डिमनका रविन्द्रकुमार यादव, सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी, तिलाठी कोइलाडी गाउँपालिका–२ का मनिषकुमार मण्डल, बोदेबर्साइन नगरपालिका–८ का शिवकुमार यादव, देवकुमार यादव र सचितकुमार यादव छन्।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ का संजय साह, शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकका सुरेन्द्रदेव चौधरी, डाक्नेश्वरी नगरपालिका–५ पातोका अभिनाश पण्डित, विष्णुपुर गाउँपालिका–१ जमुनीका ओमनारायण यादव, राजगढ गाउँपालिका–६ का विजयकुमार यादव र महदेवा गाउँपालिका–२ का सन्तोष यादव पनि सम्पर्कविहीन छन्।
ओमनारायण यादव नुवाकोटमा कार्यरत रहेको जनाइएको छ।
३१ कामदारको अवस्था अज्ञात
सम्पर्कविहीन हुनेमा कामदारको संख्या सबैभन्दा बढी छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार एक बालकसहित ३२ जना कामदार सम्पर्कविहीन भएका थिए। तीमध्ये खडक नगरपालिका–५ रञ्जितपुरका सन्तोष चौधरीको शव फेला परेको छ।
चौधरीको शव फेला परेपछि एक बालकसहित ३१ जना कामदार अझै सम्पर्कविहीन छन्। उनीहरू एउटै आयोजनासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
यसैगरी, एक लोडर चालक र एक सवारी चालक गरी दुई जना चालक पनि सम्पर्कविहीन छन्।
सम्पर्कविहीनको सूचीमा दुई जना शिक्षक, दुई जना स्वास्थ्यकर्मी र दुई जना सुरक्षाकर्मीसमेत छन्। तीमध्ये एक जना शिक्षक, एक जना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी सम्पर्कमा आइसकेका छन्।
विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका प्राविधिक धारका शिक्षक (इन्जिनियर) अजयकुमार यादव पनि सम्पर्कविहीन छन्।
सुरक्षाकर्मीतर्फ राजविराज नगरपालिका–१० मटिगढीका तथा रसुवामा नेपाली सेनामा कार्यरत रोशनकुमार यादव सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। कञ्चनरुप नगरपालिका–८ का सुरक्षाकर्मी अजय मरिक भने सम्पर्कमा आइसकेका छन्।
परिवारमा बढ्दो चिन्ता
एकैपटक ठूलो संख्यामा इन्जिनियर, कामदार तथा अन्य जनशक्ति सम्पर्कविहीन भएपछि सप्तरीका परिवारमा चिन्ता बढेको छ। रोजगारीका लागि घरबाट टाढा पुगेका आफन्तको अवस्थाबारे लामो समयसम्म जानकारी नपाउँदा परिवारजन त्रसित बनेका छन्।
परिवारजनले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन माग गरेका छन्। उनीहरूले हराइरहेका व्यक्तिको अवस्थाबारे नियमित र विश्वसनीय सूचना उपलब्ध गराउनसमेत आग्रह गरेका छन्।
भोटेकोशी बाढीपहिरोपछि सप्तरीबाट मात्रै ठूलो संख्यामा प्राविधिक जनशक्ति तथा कामदार सम्पर्कविहीन हुनुले जोखिमयुक्त क्षेत्रमा सञ्चालित जलविद्युत् तथा पूर्वाधार आयोजनामा विपद् जोखिम न्यूनीकरण र श्रमिक सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।







