काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज ९सोमबार० बिहान ६स्४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
काठमाडौँ–धादिङतर्फ जाने मार्गको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड अहिले एकतर्फी रूपमा सुचारु भएको छ।
यसैगरी बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भने परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी साधन सञ्चालन गरिनेछ।
रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देशका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
त्यस्तै शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।







