ललिता साह
राजविराज । गत वर्ष सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोध तथा सुशासन, न्याय, समानता, स्वतन्त्रता, रोजगारी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा सप्तरीका युवाहरूले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरेका छन्।
भदौ २३ अर्थात् सेप्टेम्बर ८ गते परेको जेन–जेड सहिद दिवसका अवसरमा राजविराजस्थित गजेन्द्र चोकमा दीप प्रज्वलन, मौनधारण तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। कार्यक्रममा सप्तरीका युवा तथा आन्दोलनमा सहभागी मधेशवादी नेता दिपेन्द्र चौधरीलगायतको सहभागिता रहेको युवा अगुवा विष्णु यादवले जानकारी दिए।
श्रद्धाञ्जली सभामा सहभागी युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको सपना पूरा गर्न राज्य गम्भीर बन्नुपर्ने बताएका थिए।
युवा मोहन यादवले जेन–जेड आन्दोलनका क्रममा सरकारले सुरुमा गोली चलाएर विद्यार्थी तथा युवामाथि दमन गरेपछि त्यसबाट उत्पन्न आक्रोशले आन्दोलन थप उग्र बनेको दाबी गरे। उनका अनुसार सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायतका राज्यका महत्वपूर्ण संरचनामा भएको आगजनी त्यसैको परिणाम थियो।
“स्कुल ब्याग र ड्रेस लगाएर शान्तिपूर्ण आन्दोलनमा पुगेका जनताका छोराछोरीमाथि गोली नचलाइएको भए देशमा त्यस्तो अवस्था सिर्जना हुने थिएन,” यादवले भने। उनले तत्कालीन सरकारका नेतृत्वकर्ताप्रति आक्रोश व्यक्त गर्दै घटनाको जिम्मेवारीबारे गम्भीर समीक्षा हुनुपर्ने बताए।
युवा अभियन्ता विनोद यादवले सहिदहरूको सपना र युवापुस्ताको अपेक्षालाई व्यवहारमा उतार्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने बताए। उनले वर्तमान सरकारले सहिदहरूको सपना, युवाहरूको आकांक्षा तथा नेपाली जनताको आशालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी युवाहरूले जेन–जेड आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई राज्यले उचित सम्मान दिनुपर्ने मागसमेत गरेका थिए।







