मुम्बई । बलिउडका चर्चित एक्सन स्टार टाइगर श्राफमाथि मुम्बईको जुहु क्षेत्रमा आइतबार साँझ भयानक साङ्घातिक आक्रमण भएको छ । जुहूस्थित एक फुटबल क्लबबाट निस्किएर आफ्नो बीएमडब्ल्यू कारमा अघि बढ्नासाथ मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले भुटुटु गोली प्रहार गरेका थिए ।
यस आक्रमणमा टाइगर सुरक्षित रहन सफल भएका छन् । यद्यपि, गोलीबारीका क्रममा उछिट्टिएको बारुद र कारको सिसाका टुक्राहरूका कारण उनको देब्रे हात, काँध र छातीमा सामान्य चोट लागेको छ । घटनालगतै उनका चालक फिरदौस गम्भीर घाइते भएपछि टाइगर आफैँले स्टेयरिङ सम्हालेर गाडी कुदाएका थिए । आक्रमणमा चालक फिरदौस र एक अटो रिक्सा चालक घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएअनुसार टाइगर आफ्नो कारको ड्राइभर छेउको सिटमा बसेर फुटबल क्लबबाट निस्किइरहेका हुन्छन् । फ्यानहरूलाई अभिवादन फर्काउँदै अघि बढ्दा कारलाई निशाना बनाएर अचानक गोली चल्न थाल्छ ।
एउटै मोटरसाइकलमा आएका तीनजनामध्ये एकले टाइगरको गाडीमा ५ राउण्ड गोली चलाएको दृष्य सिसीटीभी फुटेजमा कैद भएको छ । दोस्रो व्यक्ति गाडीको अगाडि झ्यालमै आएर टाइगरलाई नजिकैबाट गोली हान्ने प्रयास गर्छन् । तर उनको बन्दुक जाम भएर गोली पड्किन नसकेको देखिएको छ । यदि उनको गोली चलेको भए सायद टाइगरको ज्यान सुरक्षित रहने थिएन ।
आक्रमणलगत्तै दुवैजना बन्दुकधारी नजिकै तेस्रो व्यक्तिले रोकिराखेको मोटरसाइकल चढेर भिड बीचबाटै भाग्न सफल भएका थिए । चालक घाइते भएपछि टाइगर आफैं ड्राइभिङ सिटमा बसेर गाडी भगाएको पनि सिसीटिभी फुटेजमा देखिन्छ ।
आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल अन्धेरी पश्चिम रेलवे स्टेसननजिक छाडिएको अवस्थामा भेटिएको छ । त्यहाँबाट उनीहरू रेल चढेर भागेका थिए वा सडकमार्गबाट अन्यत्र पुगेका थिए भन्ने पत्ता लगाउन प्रहरीले आसपासका क्षेत्र र रेलवे स्टेसनका दृश्यहरू जाँचिरहेको छ ।
प्रहरीले आक्रमणकारीहरू घटनास्थलमा आकस्मिक रूपमा पुगेका नभई टाइगरको गतिविधिबारे पहिल्यै जानकारी राखेको हुनसक्ने आशंका गरेको छ । टाइगर प्रत्येक आइतबार सोही क्षेत्रमा फुटबल खेल्न जाने गरेका थिए । उनी त्यहाँ आउने समय थाहा पाएर आक्रमणकारीहरू कुरेर बसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाअघि आक्रमणकारीहरूले टाइगरको गतिविधि निगरानी गरेका थिए कि थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै प्रत्यक्षदर्शीको बयान लिइरहेको छ ।
घटनाको केही समयपछि नै अमेरिकी भूमिमा लुकेर बसेका ग्याङ्स्टर अनिल पण्डित र हरमन सन्धुले यस आक्रमणको जिम्मेवारी लिएका छन् । लरेन्स बिश्नोई गिरोहसँग आबद्ध यी दुईले सामाजिक सञ्जालमा एउटा अडियो सन्देश जारी गर्दै बलिउड अभिनेता सलमान खानसँग सम्बन्ध राख्ने वा उनीसँग काम गर्ने जोकोहीलाई पनि यस्तै गराउने खुला चेतावनी दिएका छन् । टाइगर श्राफले सलमान खानको प्रोडक्सन वा उनीसँग नजिक रहेर काम गरिरहेका कारण उनलाई निशाना बनाइएको बुझिएको छ ।
मुम्बई प्रहरीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिँदै क्राइम ब्रान्चको नेतृत्वमा १५ वटा विशेष टोली गठन गरी आक्रमणकारीहरूको खोजी तीव्र पारेको छ। प्रहरीले हालसम्म एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
यसैबीच, मुम्बईको मुटुमै सेलिब्रेटीमाथि भएको यस खुला आक्रमणले महाराष्ट्रको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ । महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्दे र मुख्यमन्त्री देवेन्द्र फडणवीसले टाइगर श्राफ र उनका पिता ज्याकी श्राफसँग फोनमा कुराकानी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिएका छन् र दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढता व्यक्त गरेका छन् ।
अर्कोतर्फ, विपक्षी दलहरूले मुम्बईको कानुन व्यवस्था पूर्णरूपमा ध्वस्त भएको भन्दै वर्तमान सरकारको कडा आलोचना गरिरहेका छन् ।







