राजविराज । सप्तरीको बलान–बिहुल गाउँपालिका–४, बेल्हीका युवा रोशन कुमार यादवले स्थानीय तहलाई निर्दलीय बनाउने चुनावी वाचा तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।

उनले समाजिक संजाल मार्फत  प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै २०८३ कात्तिक १ गते लेखिएको खुला पत्रमा यादवले स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गरी स्वतन्त्र, सक्षम र स्वच्छ छवि भएका नागरिकले नेतृत्व गर्ने वातावरण बनाउन आग्रह गरेका हुन्।

यादवले पत्रमा प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयरका रूपमा निर्वाचित हुँदा आम नागरिकमा राजनीतिक परिवर्तन र सुशासनप्रति ठूलो आशा जागेको उल्लेख गरेका छन्। दलगत प्रतिस्पर्धा र राजनीतिक सिन्डिकेटका कारण स्थानीय समुदाय विभाजित हुँदै आएको भन्दै उनले स्थानीय तहमा निर्दलीय निर्वाचन प्रणाली लागू गर्ने विषयलाई प्रधानमन्त्रीले आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार अघि बढाउनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअघि आफ्नो वाचापत्रमा स्थानीय तहलाई निर्दलीय बनाउने विषयलाई प्राथमिकता दिएको र प्रधानमन्त्री शाहले पनि विभिन्न मञ्चबाट यसबारे प्रतिबद्धता व्यक्त गरेको यादवको दाबी छ। सोही प्रतिबद्धताका आधारमा आफूहरूले परिवर्तनको अपेक्षा गरेको उनले पत्रमा उल्लेख गरेका छन्।

‘गाउँलाई दलहरूको रणभूमि बन्नबाट जोगाउनुहोस्’

खुला पत्रमा यादवले स्थानीय तहको निर्वाचनलाई लिएर गाउँगाउँमा पुनः दलगत गुटबन्दी, कार्यकर्ताबीच तानातान र राजनीतिक वैमनस्य बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार दलगत प्रतिस्पर्धाका कारण छिमेकीबीच सम्बन्ध बिग्रिने, गाउँका टोल विभाजित हुने र स्थानीयस्तरमा राजनीतिक प्रतिशोध बढ्ने समस्या दोहोरिने जोखिम छ।

निर्दलीय स्थानीय निर्वाचन प्रणालीले योग्य र सक्षम स्थानीय नागरिकलाई नेतृत्वमा पुग्ने अवसर दिनुका साथै चुनावमा हुने अस्वाभाविक खर्च र निर्वाचित भएपछि हुन सक्ने नीतिगत तथा आर्थिक भ्रष्टाचारलाई निरुत्साहित गर्न सहयोग पुग्ने उनको अपेक्षा छ।

यादवले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान र परिवर्तनको पक्षमा जनताले दिएको मतलाई स्मरण गर्दै सरकारलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्। दुई तिहाइको जनमतसहित सरकारको नेतृत्व गरिरहेको अवस्थामा पनि स्थानीय तहलाई निर्दलीय बनाउने विषयमा निर्णय लिन नसके इतिहासले सरकारसँग प्रश्न गर्ने उनको भनाइ छ।

‘समय अझै बाँकी छ’

खुला पत्रमार्फत यादवले प्रधानमन्त्री शाहसँगै रास्वपा सभापति रवि लामिछानेलाई पनि चुनावी प्रतिबद्धता कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेका छन्। आगामी स्थानीय निर्वाचनअघि नै स्थानीय तहलाई निर्दलीय बनाउने ऐतिहासिक कदम चाल्नुपर्ने उनको माग छ।

‘हाम्रो गाउँलाई दलहरूको रणभूमि बन्नबाट जोगाउनुहोस्। जनताको भरोसाको हत्या हुन नदिनुहोस्,’ यादवले पत्रमा लेखेका छन्।

आफूलाई सचेत र स्वतन्त्र युवाका रूपमा प्रस्तुत गर्दै यादवले स्थानीय तहको निर्वाचन प्रणालीमा परिवर्तन हुने अपेक्षा अझै कायम रहेको बताएका छन्। उनले सरकारलाई जनताको विश्वास र परिवर्तनको आकांक्षाअनुसार अघि बढ्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको