मधेसका नेताले जनविश्वास गुमाएको आरोप, नयाँ राजनीतिक शक्ति निर्माण गर्न युवालाई आह्वान

राजविराज । पूर्वसांसद तथा मधेसका युवा नेता विदेश्वर प्रसाद यादव ‘बिक्की’ले मधेसको मुखौटाभित्र तानाशाह लुकेको टिप्पणी गरेका छन्। उनले मधेसी नेताहरूले जनताको विश्वास गुमाउँदै गएको आरोप लगाउँदै मधेसको राजनीतिलाई जोगाउन युवाहरू अगाडि आउनुपर्ने बताएका छन्।

यादवले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै व्यक्तिगत स्वार्थ र सत्ता प्राप्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने नेताहरूले मधेसको मुद्दालाई कमजोर बनाएको आरोप लगाएका हुन्। मधेसी समुदायको अधिकार र पहिचानका नाममा राजनीति गर्नेहरूबाट अब मधेसको अधिकार संरक्षण र थप अधिकार प्राप्तिका लागि प्रभावकारी आन्दोलन तथा संघर्ष हुन नसक्ने उनको दाबी छ।

आफूले सद्भावना पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी मञ्चबाटै राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्दै यादवले व्यक्तिगत स्वार्थका लागि मधेसको राजनीति गर्नेहरूले आफूलाई मधेसको राजनीति सिकाउन आवश्यक नरहेको बताएका छन्।

उनले मधेस आन्दोलनका सहिद परिवार र उनीहरूका बालबालिकाको भरणपोषणका लागि पर्याप्त पहल हुन नसकेको, जेलमा रहेका आन्दोलनकारीका विषयमा प्रभावकारी पहल नगरिएको तथा आन्दोलनलाई व्यवस्थित बनाउन नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

इमानदार नेता तथा कार्यकर्तालाई पाखा लगाउने, आफूअनुकूल र आत्मकेन्द्रित निर्णय गर्ने तथा मधेसका मुद्दालाई सत्तामा पुग्ने भर्‍याङ बनाउने प्रवृत्तिले मधेसी जनताको विश्वास गुम्दै गएको उनको आरोप छ।

यादवले मधेसका मुद्दा उठाउने नेताहरूले मधेसविरोधी दलहरूसँग समेत सत्ता साझेदारी गर्ने गरेको टिप्पणी गर्दै कमिसन र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु पनि मधेसको राजनीतिप्रति जनताको विश्वास घट्नुको कारण भएको बताएका छन्।

उनका अनुसार यस्ता प्रवृत्तिका कारण मधेसको राजनीति कमजोर बन्दै गएको छ भने मधेसी राजनीतिक शक्तिहरू विघटन र पलायनको अवस्थामा पुगेका छन्।

नयाँ राजनीतिक शक्ति निर्माण गर्न युवालाई आह्वान

मधेसको राजनीतिलाई पुनर्जीवित गर्न युवाहरूले नेतृत्व लिनुपर्नेमा जोड दिँदै यादवले नयाँ अभियानसहित नयाँ मधेसी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण, बाँकी अधिकार प्राप्ति र जनताको विश्वास पुनः स्थापित गर्न पुरानै राजनीतिक कार्यशैलीबाट सम्भव नहुने उनको आशय छ।

यादवको टिप्पणीले मधेसको राजनीतिमा नेतृत्वको कार्यशैली, जनताप्रतिको जवाफदेहिता र नयाँ राजनीतिक शक्तिको आवश्यकताबारे बहसलाई थप चर्काउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
8
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको