नेपाली स्थायी नियोगद्वारा रचनात्मक संवादको अपेक्षा
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारदेखि न्युयोर्कस्थित मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ। आगामी सेप्टेम्बर २९ सम्म सञ्चालन हुने यस महासभामार्फत विश्वव्यापी चासोका विभिन्न मुद्दाहरूमाथि घनिभूत छलफल हुनेछ।
‘विश्वासको पुनर्संस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने मूल नाराका साथ शुरू भएको यस महासभामार्फत विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनलगायतका जल्दाबल्दा समस्याहरूको प्रभावी समाधान खोजिने अपेक्षा गरिएको छ। महासभाको बैठकलाई सम्बोधन गर्दै महासभाका अध्यक्ष खालिलुर रहमान र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटेरेसले वर्तमान विश्वले सामना गरिरहेका जटिल भूराजनीतिक द्वन्द्व, जलवायु सङ्कट र आर्थिक असमानतालाई सम्बोधन गर्न सामूहिक सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।
अध्यक्ष रहमानले दिगो विकासका रणनीतिहरूको कार्यान्वयन, मानव अधिकार, डिजिटल सुशासन र बहुपक्षीय हितका लागि राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा यस महासभाले महत्त्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, महासचिव गुटेरेसले आपसी संवाद, सहकार्य र विश्वासको वातावरणबाट मात्रै गरिबी, द्वन्द्व र आणविक जोखिमजस्ता विश्वव्यापी चुनौतीहरूलाई परास्त गर्न सकिने धारणा राखेका छन्।
महासभाको शुरूआतसँगै न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै रचनात्मक संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, मानवीयता र जलवायु न्यायको पक्षमा काम गर्न नेपाल प्रतिबद्ध रहेको जनाएको छ। साथै, नियोगले महासभाको अध्यक्षमा चयन भएका बङ्गलादेशी कूटनीतिज्ञ खालिलुर रहमानलाई बधाईसमेत ज्ञापन गरेको छ।
यसैबीच, मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतमा मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले अल्पविकसित राष्ट्रहरूको आर्थिक विकासका लागि विश्वव्यापी ऐक्यबद्धता, उत्पादन क्षमतामा वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनविरुद्ध लचिलोपन र दिगो विकासका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्न जोडदार आह्वान गरेका छन्।







