राजविराज । अस्पतालको प्रवेशद्वार नजिकै सडक पेटीमा बच्चा जन्माउन बाध्य भएकी सप्तरीकी बबिता पासवानलाई समाजसेवी सुनिता साह (क्रान्ति)ले राहत सामग्री प्रदान गरेकी छन्।

राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी राजविराज–७ निवासी साहले शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालमै पुगेर राजविराज नगरपालिका–१४ की बबितालाई आमा र नवजात शिशुका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्।

विपन्न परिवारकी बबिता आर्थिक अभावका कारण अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन नसकेपछि रकमको जोहो गर्न बाहिर निस्किएकी थिइन्। सोही क्रममा तीन दिनअघि अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पीडाले च्यापेपछि उनले सडक पेटीमै शिशुलाई जन्म दिएकी थिइन्। हाल बबिता र उनका शिशुको उपचार सोही अस्पतालमा भइरहेको छ।

बबिताको पीडामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले साहले आमा र बच्चाका लागि लत्ताकपडा, झुल, सेनिटरी प्याड, साबुन, पाउडर, पौष्टिक आहारलगायतका सामग्री प्रदान गरेकी छन्। साथै, करिब एक महिनासम्म पुग्ने खाद्यान्नसमेत हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण गर्दै साहले आर्थिक अभावका कारण कुनै पनि महिलाले सुरक्षित प्रसूति सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा राज्य र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताइन्।

अस्पतालको गेटमै प्रसूति हुन पुगेको बबिताको घटनाले स्वास्थ्य सेवा र विपन्न नागरिकको पहुँचमाथि गम्भीर प्रश्न उठाएपछि उनको अवस्थाप्रति विभिन्न क्षेत्रबाट सहयोग र चासो बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको