काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टी तथा सरकारको नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउँदै आएपछि उनको मधेश केन्द्रित राजनीतिक सक्रियता बढेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङसहित पार्टी नेतृत्वको कार्यशैलीमाथि संसद्मै प्रश्न उठाउँदै आएका सिंहले छठपछि मधेशमा पदयात्रा गर्ने घोषणा गरेका छन्। पदयात्राको तयारीस्वरूप उनी पछिल्ला दिनमा मधेश तथा आसपासका जिल्लामा पुगेर विभिन्न दलका नेता, सांसद तथा प्रभावशाली व्यक्तिहरूसँग भेटघाट र अन्तरसंवाद गरिरहेका छन्।
सिंहले हालै रुपन्देही र कपिलवस्तु पुगेर विभिन्न राजनीतिक दलसँग आबद्ध नेताहरूसँग भेटघाट गरेका छन्। उनले यी भेटघाटलाई आगामी पदयात्राको पूर्वतयारीका रूपमा व्याख्या गरेका छन्।
‘छठपछि हुने मेरो पदयात्राको पूर्वतयारीका लागि आज कपिलवस्तु र भैरहवामा भेटघाट तथा अन्तरक्रिया हुनेछ,’ सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।
कपिलवस्तुमा उनले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा भारतका पूर्वराजदूत दीपकुमार उपाध्याय, कांग्रेस नेता अभिषेकप्रताप शाह, नेकपाका नेता बृजेश गुप्ता, दानबहादुर चौधरी, ईश्वरदयाल मिश्र र मिर्जारसिद बेगलगायतसँग भेटघाट गरेका छन्।
पूर्वराजदूत उपाध्यायले सिंहसँग जिल्लामै भेट भएको र प्रस्तावित मधेश पदयात्राबारे छलफल भएको बताएका छन्। कांग्रेस नेता तथा कपिलवस्तु–३ का सांसद अभिषेकप्रताप शाहले पनि सिंहसँग आफ्नै निवासमा भेट भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिएका छन्।
रुपन्देहीमा पनि सिंहले रास्वपाका नेता, सांसद तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन्। उनले रुपन्देही–५ का सांसद तौफिफ खानसँग भेट गर्नुका साथै बुटवलमा आयोजित अन्तरसंवादमा समेत सहभागिता जनाएका थिए।
रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेका अनुसार सिंह केही दिनयता रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा भेटघाट गरेर काठमाडौं फर्किएका छन्।
आफ्नै पार्टी र सरकारमाथि लगातार प्रश्न
सिंहले पछिल्लो समय सरकार र आफ्नै पार्टीको कार्यशैलीमाथि लगातार प्रश्न उठाउँदै आएका छन्। रास्वपा संसदीय दलको बैठकमै उनले मधेशमा ठूलो असन्तुष्टि रहेको दाबी गर्दै छठपछि मधेशमा पुग्दा पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने चेतावनी दिएका थिए।
उनको यही अभिव्यक्ति र त्यसपछि सुरु भएको मधेश केन्द्रित राजनीतिक सक्रियतालाई अहिले राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
तर सिंहको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। रास्वपाका केही शुभेच्छुकले सरकार र पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन आग्रह गरेका छन् भने केहीले उनको सक्रियतालाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षासँग जोडेर प्रश्न उठाएका छन्।
सरकारलाई खबरदारी गर्नु सकारात्मक भए पनि पार्टीभित्र असन्तुष्टि बढाउने वा राजनीतिक स्थिरतामा असर पार्ने गतिविधि नगर्न कतिपयले सुझाव दिएका छन्।
सिंहको अभियानमाथि प्रश्न
सिंहले सरकार र पार्टी नेतृत्वको आलोचना गरेपछि आचार्य श्रीनिवासले उनको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन्। उनले सिंहमाथि रास्वपालाई कमजोर बनाउने तथा पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन्।
यस्तै, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले सिंहको लुम्बिनी तथा सुदूरपश्चिम क्षेत्रमा बढ्दो राजनीतिक सक्रियतामाथि प्रश्न उठाएका छन्।
यादवले सिंहको सक्रियता जनसेवाका लागि हो वा व्यक्तिगत राजनीतिक विस्तारका लागि भन्ने प्रश्न गर्दै राजनीतिक पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याएका छन्।
सिंहको विगतको राजनीतिक भूमिकाबारे सार्वजनिक बहसमा विभिन्न आरोप आउने गरेको उल्लेख गर्दै यादवले प्रमाणबिना कसैलाई विदेशी एजेन्ट भन्न नहुने, तर त्यस्ता प्रश्न उठेपछि सम्बन्धित व्यक्तिले राजनीतिक रूपमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखेका छन्।
मधेश पदयात्राले नयाँ ध्रुवीकरण ल्याउला?
सिंहको प्रस्तावित मधेश पदयात्रालाई कतिपयले रास्वपाभित्रै नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावनासँग जोडेर हेर्न थालेका छन्। विशेषगरी विभिन्न दलका असन्तुष्ट तथा प्रभावशाली नेतासँग सिंहले गरिरहेको भेटघाटले राजनीतिक अनुमानलाई थप बल दिएको छ।
यद्यपि, सिंहको वास्तविक राजनीतिक उद्देश्य र आगामी रणनीति पदयात्रा सुरु भएपछि मात्रै थप स्पष्ट हुने देखिन्छ।
सिंहले मधेशमा सरकार र रास्वपाप्रति असन्तुष्टि बढिरहेको दाबी गर्दै आएका छन्। ‘छठपछि मधेशमा पुग्दा रास्वपाका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्नेछ’ भन्ने उनको चेतावनीले आगामी पदयात्रालाई अझै चासोको विषय बनाएको छ।
अब प्रश्न भनेको सिंहको पदयात्रा सरकार र आफ्नै पार्टीलाई खबरदारी गर्ने अभियानमा सीमित हुन्छ कि मधेशमा नयाँ राजनीतिक ध्रुवीकरणको आधार बन्छ भन्ने हो।







