काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुस्ताङको जोमसोममा आज सुरु ‘घरपझोङ जलवायु सम्मेलन’का लागि शुभकामना सन्देश पठाउँदै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षतिबारे आवाज उठाउने बताएका छन्।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन (मोहन थकाली) ले सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री शाहको शुभकामना सन्देश पढेर सुनाएका हुन्।

‘मुस्ताङको घरपझोङ गाउँपालिकाको अगुवाइमा गण्डकी सरकार, स्थानीय तहहरू, अन्नपूर्ण क्षेत्र तथा अन्य निकायहरूको सहयोगमा २०८३ साल भदौ ३० र ३१ गते जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ आयोजना हुन लागेकामा मलाई खुसी लागेको छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा महाभारत पग्लने, हिमताल फुट्ने, हिमनदीहरूको प्रवाह बढ्ने, पानीका मुहानहरू सुक्ने, मौसममा ऐतिहासिक परिवर्तनहरू आउनेलगायत समस्याहरू हिमाली क्षेत्रका बासिन्दाहरूले बढी भोग्नुपरेको छ। जलवायु परिवर्तनका कारण स्थानीय जनजीवन, कृषि र जैविक विविधतमा पनि पूर्ण असर पर्न थालिसकेको छ। जलवायुको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहहरूबिच बलियो सहकार्य हुन आवश्यक छ’, प्रधानमन्त्रीले शाहले सन्देशमा भनेका छन्, ‘जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा जलवायु परिवर्तनका कारणल नेपालले बेहोर्नुपरेको क्षतिबारे हामीले स्पष्ट पार्ने नै छौँ।’

जलवायु परिवर्तनबाट हुने असर न्यूनीकारण र व्यवस्थापनका लागि विश्व समुदायलाई सहकार्यका लागि आह्वान गर्ने पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाँदै छन्। महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ। शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको