सिन्धुली   ।  सिन्धुलीको मरिण गाउँपालिका-४, साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा सयौं चिनियाँ नागरिकले भिसाको दुरुपयोग गर्दै काम गरिरहेको खुलासा भएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरूले अवैधरूपमा काम गर्दै आएका छन्। पर्यटक भिसामा काम गर्नु गैरकानुनी मानिन्छ।

चीनको छेङ्दु जियान फुड लिमिटेड र नेपालको हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेडको संयुक्त साझेदारीमा कूल २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार लागतमा निर्माण थालिएको उद्योगमा गैरकानुनी रूपमा चिनियाँ नागरिकहरूको संलग्नता देखिएको हो।

निर्माणाधीन उद्योगमा नेपालीबाहेक ५०१ जना चिनियाँ नागरिक कार्यरत छन्। भिसाको दुरुपयोग गरेर उनीहरू गैरकानुनी रूपमा उक्त उद्योगमा काम गर्दै आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि पुष्टि गरेको छ।

गत शनिबार जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधिको संयुक्त टोलीले निर्माणाधीन मासु उद्योगमा छापा मारेको थियो। त्यसक्रममा ५०१ जना चिनियाँ कामदारसँग नेपालमा काम गर्ने अनुमति (वर्किङ भिसा) नभएको पाइएको हो।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार उद्योगमा कार्यरत ५०१ जना चिनियाँ नागरिक कामदारमध्ये ३२८ जनाको मात्र राहदानी रहेको पाइएको छ। उनीहरूमध्ये पनि दुई सय ३५ जनासँग पर्यटक (टुरिष्ट) भिसा र ९२ जनासँग व्यावसायिक (बिजनेस) भिसा  रहेको पाइएको छ। अन्य १ सय ७३ जनाको राहदानी तथा भिसा नै नभएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन्। ‘उनीहरूको पनि कामदार भिसा छ भन्ने एकीन छैन। भिसा भएका एकजनाको म्याद पनि सकिएको छ,’ उनले भनिन्।

विदेशी नागरिकले कामदार भिसाबाहेक नेपालमा बसेर काम गर्न पाउँदैनन्। अध्यागमन नियमावली २०५१ (पाँचौं संशोधन २०६४)को नियम २० मा ‘पर्यटक भिसामा आउने कुनै पनि विदेशी नागरिकले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन’ भनी उल्लेख छ। तर, कानुन विपरीत सयौंको संख्यामा रहेका चिनियाँ नागरिकहरू निर्धक्क काम गरिरहेको पाइएको हो।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ‘टुरिष्ट’ र ‘विजनेस’ भिसामा नेपाल आएर काम गर्दै आएका चिनियाँ नागरिक र बिना भिसा बसिरहेका १ सय ७३ जनाका सम्बन्धमा थप अनुसन्धन हुने बताइन्।

‘उद्योगमा कार्यरत कामदारका रूपमा प्राप्त ३ सय २८ वटा राहदानीको विवरण टिपोट गरी थप आवश्यक अध्ययन तथा छानबिनका लागि अध्यागमन विभाग पठाइएको छ,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अन्नपूर्णसँग भनिन्।

अनुगमन समितिले संरचना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनीलाई विदेशी नागरिकलाई काममा लगाउँदा अनिवार्य रूपमा वर्किङ (काम गर्ने) भिसाको स्वीकृति लिन निर्देशन दिएको छ।

नेपालमा रोजगारी तथा श्रमसम्बन्धी गतिविधिमा संलग्न हुने विदेशी नागरिकले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी काम गर्ने अनुमति लिनुपर्ने व्यवस्था छ। श्रम ऐन २०७४ को धारा २२ मा श्रम इजाजत नलिई कुनै पनि विदेशी नागरिकलाई श्रिमकको रूपमा काममा लगाउन नपाइने व्यवस्था गरेको छ।
तर, कानुनकै धज्जी उडाएर मासु प्रशोधन उद्योगमा अवैधरूपमा ठूलो संख्यामा चिनियाँहरू काम गरिरहेको पाइएपछि सरोकारवाला निकायले आपत्ति जनाएका छन्।

गुप्तर विभागले पछिल्लो समय विदेशी नागरिकहरूबारे सुक्ष्म निगरानी बढाएसँगै गैरकानुनी गतिविधिमा संलग्न विदेशी नागरिकहरू नियन्त्रणमा आउनेक्रम बढेको पाइन्छ। भिसाको दुरुपयोग गर्ने विदेशी नागरिकलाई दण्ड सजायको पनि व्यवस्था गरिएको छ। त्यस्ता विदेशी नागरिकको भिसा रद्द गर्नुको साथै देशबाट निष्कासन गर्नसक्ने व्यवस्था कानुनमा छ। त्यस्तै काम गराउने संस्थालाई पनि श्रम कानुनअनुसार कारबाही गर्ने प्रावधान छ।

त्यस्तै अनुगमनको क्रममा निर्मााणाधीन उद्योगभित्र अवैधरूपमा ठूलो परिणाममा मदिरा बिक्री वितरण गर्ने गरिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीभित्र गोर्खा, टाइगर, जोमसोम, लियोपार्डलगायत विभिन्न कम्पनीको २५ कार्टुनबढी मादकपदार्थ बरामद गरिएको छ। उक्त मादक पदार्थमा अन्तशुल्कसमेत नभेटिएकाले थप अनुसन्धनका लागि आन्तरिक राजश्व कार्यालय बर्दिबास पठाइएको छ।

नेपालबाट चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले गत मंसिरबाट मरिणमा मासु उद्योग निर्माण थालिएको थियो। कूल २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार लागतमा कारखाना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ। जसमध्ये २० अर्ब रुपैयाँ कारखाना निर्माण र प्लान्ट स्थापना, सात अर्ब रुपैयाँ पशुपालन, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुने कम्पनीले जानकारी दिएको छ।

कूल लगानीमध्ये २० अर्ब रुपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट विदेशी लगानी भित्र्याउन लागिएको छ। चिनियाँ साझेदारीमा सिन्धुलीमा निर्माण हुने गरी भैँसीको मासु प्रशोधन उद्योग (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री)का लागि २० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि स्वीकृत भइसकेको छ।

५५ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उद्योग सञ्चालन हुँदा करिब पाँच हजार १ सय ५६ जनाले रोजगारी पाउने विवरण उद्योग विभागलाई कम्पनीले उपलब्ध गराएको छ। कारखानाबाट दैनिक पाँच हजार वटा राँगा तथा भैँसीबाट पाँच सय मेट्रिक टनका मासु निर्यात गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वार्षिक दुई लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट र ५५ हजार मेट्रिक टन सहउत्पादन (हाड, छाला, टाउको, विभिन्न प्रकारका आन्तरिक अङ्गलगायत) गर्ने लक्ष्य राखिएको छ। किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनमा आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको छ।

त्यस्तै बर्दियाको गुलरियामा घाँस उत्पादन गर्ने प्रक्रियासमेत सुरु भइसकेको कम्पनीले जनाएको छ। उद्योगले आगामी एक वर्षभित्रमा मासु निर्यात गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
25
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको