नयाँदिल्ली । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भेटवार्तामा नेपालमा हालै आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्य र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि नेपालका प्राथमिकताबारे छलफल भएको थियो।
भारतीय वित्तमन्त्री सीतारमणले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
अर्थमन्त्री वाग्लेले भारतले नेपालमा उद्धार तथा राहतका लागि उपलब्ध गराएको राहत सामग्री, प्राविधिक सहयोगलगायतको सहयोगप्रति भारतीय वित्तमन्त्रीलाई धन्यवाद दिनुभयो।
भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। व्यापार र लगानी विस्तारसँगै जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन कनेक्टिभिटी अभिवृद्धिका पहलका विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।
दुवै मन्त्रीले नेपाल र भारतबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
डा. वाग्ले अर्थमन्त्री नियुक्त भएपछि पहिलो औपचारिक भारत भ्रमणमा हुनुहुन्छ। भेटवार्तामा नेपालका विदेश सचिव तथा आर्थिक कार्य विभागका सचिवलगायत अधिकारीहरूको पनि सहभागिता रहेको थियो।







