जनकपुरधाम । जनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। यो नामावली उम्मेदवारी दर्ता भएको समय र आधिकारिक इमेलमा प्राप्त फारमको क्रमअनुसार प्रकाशन गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेका हुन्।
जसअनुसार अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको छ। उपाध्यक्षका लागि भने १४ जनाले उम्मेदवारी दिएका छन्। यसैगरी महासचिवमा तीन जना र राष्ट्रिय उपमहासचिवमा दुई जनाको उम्मेदवारी परेको छ।
त्यस्तै सात जना राष्ट्रिय सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि ७३ जनाको नाम प्रारम्भिक सूचीमा छ।
उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाले उम्मेदवारी दिएका छन्।
यस्तै महासचिव पदमा ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादव तथा राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार बनेका छन्।
राष्ट्रिय सचिवका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अन्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।
यो उम्मेदवारीमा असोज ३ गते शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दाबीविरोध गर्न पाइनेछ। यसपछि असोज ४ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।
असोज ५ गते सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
अनि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने र असोज १० गते शनिबार दोस्रो महाधिवेशन तथा मतदान हुने जनमतको निर्वाचन समितिले जनाएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगन्जमा हुँदै छ।









