काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य(पश्चिम भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै ९बलियो न्यून चापीय क्षेत्र० को रूपमा पश्चिम(उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
हाल देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
उच्च सतर्कता अपनाउन आग्रह
बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध समेत गरेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ ।
मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम छ । वर्षाका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।
मन्त्रालयले नदी तथा खोला किनार, पहिरो जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न सुझाव दिइएको छ ।
त्यस्तै अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रात्रीको समयमा यात्रा नगर्न, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात र अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत अनुरोध गरिएको छ । प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ ।
जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन पनि भनिएको छ । मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अनुरोध गरेको छ ।
वर्षा तथा बाढीबारे आवश्यक जानकारी लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ नम्बर तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्नसमेत प्रदेशवासीलाई आग्रह गरेको छ ।







