राजविराज । सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज १० गते हुने भनिएको निर्वाचन नहुने भएको छ। निर्वाचनअघि नै अध्यक्षसहित सबै १४ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएपछि चुनाव नहुने भएको हो।
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लालुप्रसाद अग्रवालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। अग्रवालको यो दोस्रो कार्यकाल हो।
निर्वाचन समितिका संयोजक सतिश दत्तका अनुसार वाणिज्य उपाध्यक्षका उम्मेदवार रामअशिष प्रसाद साह र महासचिवका उम्मेदवार भोगेन्द्र मिश्रले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा निर्विरोध भएको हो।
नयाँ कार्यसमितिको उपाध्यक्ष (उद्योग) मा दुर्गानन्द प्रसाद साह, उपाध्यक्ष (वाणिज्य) मा अमृत कुमार संचेती, महासचिवमा सुरेन्द्र प्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सहकोषाध्यक्षमा निर्मल कुमार मुन्धडा चयन भएका छन्।
त्यस्तै सदस्यमा दिलीप प्रसाद गुप्ता, सन्तोष कुमार सिन्हा, संजीव कुमार चौधरी, सन्तोष कुमार चौधरी, सुमन राज सिंह र अनिल प्रसाद सिंह तथा महिला सदस्यमा अम्बिका कुमारी दहाल निर्विरोध चयन भएका छन्।
यसपटक संघले उम्मेदवारी शुल्कसमेत बढाएको थियो। अध्यक्षका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ३५ हजार रुपैयाँ र सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको थियो। संघको निर्वाचन इतिहासमा यो शुल्क अहिलेसम्मकै महँगो भएको बताइएको छ।
अघिल्ला निर्वाचनमा साधारण शुल्क तिरेर उम्मेदवार बन्न सकिने भए पनि यसपटक उम्मेदवारी शुल्कमा उल्लेख्य वृद्धि गरिएको थियो। तर, महँगो उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचनमा अन्ततः मतदान नै नहुने भएको छ।







