अम्पारा, श्रीलङ्का । साउदी अरबमा मृत्युदण्डको सजाय सामना गरिरहेका युवा श्रीलङ्काली तमिल हिन्दू श्रमिक शिवरासा अनोजनको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन मानव अधिकारकर्मी तथा धार्मिक नेताहरूको प्रतिनिधिमण्डलले बिहीबार (सेप्टेम्बर २४) अम्पारास्थित उनको पारिवारिक निवासमा पुगेर परिवारसँग भेटवार्ता गरेको छ।

प्रतिनिधिमण्डलमा नेपालकी मानव अधिकारकर्मी ज्यास्मिन ओझा, श्रीलङ्काको हिन्दू सङ्घर्ष समितिका अध्यक्ष कनापतिपिल्लई सचिथानन्थन तथा समितिका अन्तर्राष्ट्रिय अध्यक्ष अरुण उपाध्याय सहभागी थिए।

प्रतिनिधिमण्डलले अनोजनका आमा, बुबा र भाइसँग दुई घण्टाभन्दा बढी समय बिताएको जनाइएको छ। भेटका क्रममा परिवारले अनोजन साउदी अरबमा कानुनी समस्यामा पर्नुअघिको घटनाक्रम तथा त्यसपछि आफूहरूले भोग्दै आएको पीडाबारे प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।

परिवारका अनुसार, साउदी अरबमा फेसबुकमार्फत भएको धार्मिक विवादपछि अनोजन कानुनी प्रक्रियामा तानिएका हुन्। भगवान शिवबारे गरिएको कथित अपमानजनक टिप्पणीको जवाफमा उनले धार्मिक आस्थाबाट प्रेरित भएर प्रतिक्रिया दिएको र त्यसपछि उक्त विषय साउदी अधिकारीसमक्ष पुगेको बताइएको छ। घटनाले पछि साइबर अपराधसम्बन्धी आरोप हुँदै मृत्युदण्डसम्मको कानुनी प्रक्रियाको रूप लिएको परिवारको भनाइ छ।

भेटपछि मानव अधिकारकर्मीहरूले अनोजनको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन अपिल गरेका छन्। उनीहरूले सम्बन्धित मानव अधिकार संस्था तथा विदेशी सरकारहरूलाई साउदी अधिकारीसँग कूटनीतिक पहल गरी अनोजनको सजाय रोक्न तथा रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

प्रतिनिधिमण्डलले अनोजनको प्रतिक्रिया व्यक्तिगत धार्मिक आस्थाबाट उत्पन्न भएको र त्यसमा दुर्भावना नरहेको परिवारको भनाइ उद्धृत गर्दै घटनालाई मानवीय संवेदनासँग जोडिएको विषयका रूपमा उठाएको छ।

यसैबीच, प्रतिनिधिमण्डलले भारतको भूमिकाप्रति पनि श्रीलङ्काली तमिल समुदायको अपेक्षा रहेको जनाएको छ। खाडी क्षेत्रमा भारतको कूटनीतिक पहुँच तथा श्रीलङ्का–भारतबीचको सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै भारतले साउदी नेतृत्वसँग उच्चस्तरीय पहल गरे अनोजनको जीवनरक्षाका लागि सहयोग पुग्न सक्ने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको