राजविराज/ निरन्तर वर्षाका कारण बाढी, डुबान तथा अन्य विपद्को जोखिम बढिरहेका बेला सप्तरीमा समुदायस्तरमा विपद् पूर्वतयारी तथा सचेतना अभियान सञ्चालन गरिएको छ ।
नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजनाअन्तर्गत समुदायस्तरीय सचेतना तथा पूर्वतयारीसम्बन्धी कार्यक्रम तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न जोखिमयुक्त समुदायमा सञ्चालन गरिएको हो ।
जनचेतना अभियान नेपालको आयोजनामा, प्रोसपर ग्लोबलको साझेदारी तथा द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित सान परियोजनाअन्तर्गत असोज ८ गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने परियोजना संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
निरन्तर वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य सम्भावित विपद्बाट समुदायलाई सुरक्षित राख्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
परियोजनाले कार्य गरिरहेका तिलाठी कोइलाडी गाउँपालिकाका १० वटा जोखिमयुक्त समुदायमा स्थानीय समुदाय विपद् व्यवस्थापन समितिको सक्रिय सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकासँगै हनुमाननगर कङ्कालिनी नगरपालिकाको बजार आसपासका क्षेत्रमा समेत सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमका क्रममा निरन्तर वर्षाका कारण हुन सक्ने बाढी, डुबान तथा अन्य सम्भावित जोखिमबाट सुरक्षित रहने उपाय, विपद्पूर्व गर्नुपर्ने तयारी, पूर्वसूचना तथा चेतावनी प्राप्त भएपछि अपनाउनुपर्ने सुरक्षा उपायबारे समुदायलाई जानकारी गराइएको थियो ।
जोखिमयुक्त स्थानमा फ्लेक्स प्रिन्ट तथा अन्य सचेतनामूलक सामग्रीमार्फत आवश्यक सुरक्षा तथा पूर्वतयारीका सन्देश सर्वसाधारणसम्म पुर्याइएको हो ।
समुदाय विपद् व्यवस्थापन समितिका सदस्य तथा स्थानीयको सहभागितामा विपद्को सम्भावित जोखिमबारे जानकारी आदानप्रदान गर्नुका साथै समयमै पूर्वतयारी गर्न र चेतावनी प्राप्त भएपछि आवश्यक सुरक्षा उपाय अपनाउन अभिमुखीकरण गरिएको थियो ।
यस्ता समुदायस्तरीय सचेतना कार्यक्रमले पूर्वसूचना तथा चेतावनीलाई समुदायसम्म समयमै पुर्याउन, जोखिमप्रति सचेतना अभिवृद्धि गर्न तथा विपद्का कारण हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको सान परियोजनाका सूचना व्यवस्थापन अधिकृत इस्प्रिया झाले बताईन् ।
परियोजनाअन्तर्गत सञ्चालन गरिएको अभियानले समुदायलाई सम्भावित विपद्को सामना गर्न थप तयारी अवस्थामा राख्नुका साथै समयमै सूचना प्राप्त गर्ने, त्यसलाई बुझ्ने र आवश्यक सुरक्षा तथा पूर्वतयारीका कदम चाल्ने संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास गरिएको परियोजना संयोजक खत्रीलेको भनाई छ ।







