राजविराज/ सप्तरीको हनुमाननगरमा विपद् स्वयंसेवक परिचालन सात दिने आधारभूत तालिम बिहीबारबाट सुरु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा गाउँपालिकाका प्रतिनिधिहरुको सहभागितामा तालिम सञ्चालन गरिएको हो ।
कोकाकोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबल संगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित “नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले तिलाठी कोइलाडी गाउँपालिका जलवायुजन्य जोखिम तथा विभिन्न प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र पूर्वतयारी क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताए ।
गाउँपालिकाका सहभागीहरुलाई लक्षित गरी महत्वपूर्ण तालिम आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद समेत व्यक्त गरे ।
तालिमका कोर्स संयोजक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राईले तालिममा समेटिएका पाठ्यक्रम, यसको महत्व तथा विपद् जोखिम न्यूनीकरणमा यसले पुर्याउन सक्ने योगदानबारे जानकारी दिए ।
उनले विपद्का समयमा प्रभावकारी रूपमा परिचालित हुन सक्ने दक्ष स्वयंसेवक तयार गर्न यस्ता तालिम महत्वपूर्ण हुने बताए ।
मधेश प्रदेशमा बाढी, खडेरी तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने अन्य विपद्को जोखिमलाई सम्बोधन गर्न पूर्वानुमानमा आधारित पूर्वकार्य र सक्रिय विपद् पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन भइरहेको परियोजना संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
तालिममा नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था, बहुप्रकोपीय पूर्वसूचना प्रणाली, पूर्वानुमानमा आधारित पूर्वकार्य, प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सेवा, घाइतेको जाँच तथा प्राथमिकीकरण, जीवनको आधारभूत सहायता, कार्डियोपल्मोनरी रिससिटेसन, बाढी, पहिरो तथा डुबानमा खोज तथा उद्धार, आगलागी प्रतिकार्य र भूकम्पीय पूर्वतयारी लगायतका विषय समेटिएको छ ।
त्यसैगरी, घाइतेको सुरक्षित स्थानान्तरण, संरचनागत क्षतिको प्रारम्भिक मूल्याङ्कन, खोज तथा उद्धार टोली गठन, व्यक्तिगत सुरक्षा, डोरीको प्रयोग, भारोत्तोलन तथा स्थिरीकरण र सडक दुर्घटनामा घाइतेको उद्धारसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्याससमेत गराइने जनचेतना अभियान नेपालले जनाएको छ ।
कात्तिक १८ गते सम्म सञ्चालन हुने तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा गाउँपालिकाका प्रतिनिधि गरी २४ जना सहभागी छन् भने तालिम सञ्चालनका लागि नौ सदस्यीय प्रशिक्षक टोली परिचालित रहेको आयोजक संस्थाले जनाएको छ ।







