राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालमा पार्टी छाड्ने क्रम बढ्दै गएको छ। यसैक्रममा पार्टीका मधेश प्रदेश सचिव मो. युसुफ अलिले प्रदेश समितिको सचिव पदसहित पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन्।
अलिले पार्टीभित्र व्यक्तिवादी सोच हाबी भएको, लोकतान्त्रिक चरित्र कमजोर बनेको र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन नसकिएको आरोप लगाउँदै राजीनामा दिएका हुन्।
पार्टी प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा उनले मधेश जनविद्रोहको भावना, सहिदहरूको बलिदान तथा मधेशी जनताको लामो संघर्षबाट स्थापित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन्।
उनले आफ्नो राजनीतिक यात्रा कुनै व्यक्ति, पद वा निजी स्वार्थका लागि नभई मधेशका उत्पीडित, उपेक्षित र अपहेलित समुदायको अधिकार, पहिचान तथा सम्मान सुनिश्चित गर्न सुरु गरेको बताएका छन्।
अलिले पार्टीभित्र सीमित नेतृत्वको राजनीतिक स्वार्थ, व्यक्तिवादी सोच र पुँजीपति वर्गको प्रभावका कारण लोकतान्त्रिक अभ्यास कमजोर बनेको आरोप लगाएका छन्। सयौँ सहिद तथा लाखौँ जनताको त्याग, बलिदान र संघर्षबाट स्थापित मुद्दालाई प्राथमिकता दिनुको सट्टा नेताको राजनीतिक अस्तित्व जोगाउने काममा पार्टी केन्द्रित भएको उनको टिप्पणी छ।
राजीनामा पत्रमा अलिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको राजनीतिमा खेलेको ऐतिहासिक भूमिकाको मूल्यांकन इतिहासले गर्ने उल्लेख गर्दै विगतको योगदानका आधारमा वर्तमानका सबै निर्णयलाई प्रश्नभन्दा माथि राख्न नसकिने बताएका छन्।
उनका अनुसार कुनै पनि आन्दोलनको सफलता एउटै नेताको स्वामित्वमा सीमित हुँदैन। आन्दोलनले कति सक्षम नेतृत्व जन्मायो, कति बलियो संस्था निर्माण गर्यो र आफ्ना विचारलाई कति दिगो बनाउन सक्यो भन्ने आधारमा त्यसको मूल्यांकन हुनुपर्छ।
मधेशको राजनीति कुनै एक व्यक्तिको राजनीतिक जीवनको निरन्तरताभन्दा ठूलो रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने, असहमतिलाई सम्मान गर्नुपर्ने र पार्टीभित्रको शक्ति जनताको विश्वास तथा लोकतान्त्रिक प्रतिस्पर्धाबाट निर्धारित हुनुपर्नेमा जोड दिएका छन्।
पार्टीले पुस्तान्तरण र वैचारिक रूपान्तरणको बाटो अवलम्बन गर्न नसकेको निष्कर्षसहित आफूले पदमा रहिरहनुभन्दा राजनीतिक विवेकअनुसार अलग बाटो रोजेको उनले बताएका छन्।
अलिले आजैको मितिदेखि लागू हुने गरी मधेश प्रदेश समितिको सचिव पद र पार्टीको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका छन्।
थप नेताहरूले पनि राजीनामा दिने सम्भावना
यसैबीच, जसपा नेपालमा राजीनामा दिने क्रम थप बढ्न सक्ने चर्चा छ। प्राप्त जानकारीअनुसार देशभरका करिब सयौं जना पदाधिकारी तथा केन्द्रीय सदस्यले समेत राजीनामा दिन सक्ने सम्भावना रहेको बताइएको छ। यद्यपि, उनीहरूको राजीनामा र त्यसको कारणबारे औपचारिक पुष्टि हुन बाँकी छ।
मो. युसुफ अलिको राजीनामाले जसपा नेपालभित्र नेतृत्व, पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र मधेश आन्दोलनका मूल मुद्दालाई लिएर बढिरहेको असन्तुष्टिलाई थप सतहमा ल्याएको छ।







