जनकपुरको कुटपिट घटनापछि साम्प्रदायिक तनाव बढ्ने संकेत, हिन्दुराष्ट्रको मागमा सरकारसँग जवाफ माग
जनकपुरधाम । जनकपुरधाममा हिन्दु युवामाथि मुस्लिम समुदायका व्यक्तिहरूले कुटपिट गरेको भनिएको घटनालाई लिएर विवाद चर्किरहेका बेला हिन्दुवादी संगठन ‘हिन्दु सम्राट सेना’ले छठपर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। संगठनको घोषणासँगै देशमा धार्मिक तथा साम्प्रदायिक तनाव बढ्न सक्ने चिन्ता थपिएको छ।
हिन्दु सम्राट सेना सचिवालय’को फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सन्देशमा हिन्दुहरूमाथि भइरहेको भनिएको अन्याय तथा अत्याचार तत्काल बन्द गर्न माग गरिएको छ। आफ्ना मागप्रति सरकारले बेवास्ता गरे छठपर्वपछि देशव्यापी आन्दोलनमा उत्रिने संगठनले चेतावनी दिएको छ।
संगठनले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उल्लेख गर्दै आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
हिन्दुराष्ट्रबारे सरकारसँग स्पष्ट जवाफ माग
हिन्दु सम्राट सेनाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ। करिब दुई महिनाअघि संगठनका प्रतिनिधि र सरकारबीच भएको वार्तामा हिन्दुराष्ट्र कायम गर्ने विषयमा सहमति भएको दाबी गर्दै संगठनले यसै महिनाभित्र सरकारको स्पष्ट जवाफ दिन आग्रह गरेको हो।
संगठनका अनुसार वार्ताका क्रममा आफ्ना माग पूरा गर्ने आश्वासन दिइएको थियो। तर, अहिलेसम्म सरकारले यस विषयमा औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै संगठनले असन्तुष्टि व्यक्त गरेको छ।
गृहमन्त्रीसँगको वार्ताको सहमतिबारे अन्योल
मधेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका बेला साउन १७ गते गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच जनकपुरधामस्थित मिथिला यात्री निवासमा वार्ता भएको थियो।
उक्त वार्ताका क्रममा गृहमन्त्रीले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएको संगठनका प्रतिनिधिहरूले दाबी गरेका थिए। तर, वार्तामा के–कस्ता विषयमा सहमति भएको थियो भन्नेबारे सरकारले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन। सहमति भएको भनिएको विषयसँग सम्बन्धित लिखित दस्तावेजसमेत सार्वजनिक भएको छैन।
जनकपुरधामको कुटपिट घटनापछि धार्मिक विषयलाई लिएर विवाद बढिरहेका बेला देशव्यापी आन्दोलनको घोषणाले सुरक्षा चुनौती थपिन सक्ने देखिएको छ। यस्तो अवस्थामा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र धार्मिक सद्भाव कायम राख्न सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता देखिएको छ। जनआस्थाबाट







