सर्वोच्चमा आधिकारिकताको विवाद विचाराधीन रहँदा ७७ वटै जिल्लामा संगठन विस्तारको अभियान, मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले समानान्तर महाधिवेशन प्रक्रिया तीव्र पारेको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेको देउवा समूहले वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गरिरहेको छ।
देउवा समूहले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिएको थियो। असोज २० गते पालिका र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम तय गरिएको थियो। अहिले अधिवेशन सम्पन्न भएका स्थानमा नेतृत्व चयन गर्दै बाँकी जिल्लामा संगठनात्मक प्रक्रिया अघि बढाइएको छ।
देउवा समूहको निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार १ सय वडामा अधिवेशन सम्पन्न भएको छ। १ सय ४३ वडामा अधिवेशन हुन बाँकी रहेको १५औँ महाधिवेशन तयारी समितिको सचिवालय समन्वय प्रमुख दीपकप्रसाद कुइँकेलले बताएका छन्।
त्यस्तै, ७ सय ५३ पालिकामध्ये ४ सय ९७ वटामा अधिवेशन सम्पन्न भएको छ भने २ सय ५६ पालिकामा अधिवेशन हुन बाँकी छ। देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय १६ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
कुइँकेलका अनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरिएको छ। बाँकी जिल्लामा पनि अधिवेशन प्रक्रिया जारी छ। देउवा समूहले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने नीति लिएको जनाएको छ।
‘एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ जिल्लामध्ये अहिलेसम्म २२ जिल्लामा अधिवेशन भएर नेतृत्व चयन भइसकेको अवस्था छ, बाँकी केही जिल्ला अधिवेशन अहिले भइरहेका छन्,’ कुइँकेलले भने।
उनका अनुसार दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ। सबै वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको उनले बताए।
संस्थापन र देउवा समूहबीच महाधिवेशनको प्रतिस्पर्धा
कांग्रेसको संस्थापन पक्षले भने असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ। संस्थापन पक्षले जिल्ला तथा प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो। त्यसपछि महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइएको छ।
देउवा समूहले संस्थापन पक्षको महाधिवेशनमा प्रतिनिधिमा पराजित भएका कार्यकर्तासमेत आफ्नो पक्षको अधिवेशनमा सहभागी भइरहेको दाबी गरेको छ।
‘हामी सबैलाई मिलाएर लैजाने पक्ष हौँ। हिजो पार्टी एकताका लागि उहाँहरूले गर्नुभएको महाधिवेशनमा साथीहरू सहभागी हुनुभयो। तर उहाँहरू पार्टी एकताको पक्षमा हुनुहुन्न भन्ने थाहा पाएपछि साथीहरू हामीसँग जोडिनुभएको छ,’ कुइँकेलले भने।
उनका अनुसार सबैलाई समेटेर अघि बढ्ने प्रयासका कारण केही वडा, पालिका तथा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएको छ। देउवा समूहको निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जिल्ला अधिवेशन सम्पन्न नहुँदासम्म वडा, पालिका र क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी रहने बताए।
‘अधिवेशनमा उत्साहपूर्ण सहभागिता देखिएको छ। ७७ वटै जिल्लामा अधिवेशनको प्रक्रिया जारी छ,’ कुइँकेलले भने।
मंसिरमा प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने तयारी
देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा अधिकांश स्थानमा कार्यसमिति सर्वसम्मत चयन गरिएको भए पनि महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भने धेरै ठाउँमा निर्वाचन भएको संयोजक पोखरेलले बताए।
देउवा समूहले महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थामा विधान संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।
प्रतिनिधि छनोटमा खुलातर्फ चार महिलासहित १४ जना, समावेशी समूहबाट १० जना, १८ देखि २८ वर्ष उमेर समूहका नवयुवाबाट एक महिलासहित दुई जना र ४० वर्षमुनिका युवाबाट एक महिलासहित दुई जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, अपांगता भएका व्यक्तिबाट एक जना, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवारबाट दुई जना, विषयविज्ञ तथा श्रमिकबाट दुई जना र अन्य समूहबाट दुई जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको पोखरेलले बताए।
देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट मात्रै ५ हजार ७ सय ७५ महाधिवेशन प्रतिनिधि आउने उनको भनाइ छ। यसबाहेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, एक निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र पालिका सभापतिहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
देउवा समूहले १४औँ महाधिवेशनका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा रूख चिह्नबाट निर्वाचित उम्मेदवारलाई समेत स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ।
यसरी विभिन्न तहबाट प्रतिनिधित्व हुने भएकाले देउवा समूहको महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या करिब ७ हजार पुग्ने अनुमान गरिएको छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको अन्तिम टुंगो नलाग्दै संस्थापन र देउवा समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ। सर्वोच्च अदालतको निर्णय र दुवै पक्षबीच सम्भावित सहमतिले कांग्रेसको आगामी संगठनात्मक संरचना तथा नेतृत्वको वैधानिकतामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ







