सप्तरी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सप्तरी क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेशसभा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा उमेश मिश्र निर्विरोध चयन भएका छन्।

तिरहुत गाउँपालिका–१ बैरवामा आयोजित अधिवेशनबाट प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा रमेश खतिवडा र क्षेत्र ‘ख’ को सभापतिमा प्रमोद झा निर्विरोध चयन भएका हुन्।

नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र आधिकारिक नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकाअनुसार संगठनात्मक गतिविधि अघि बढाएको हो। पार्टीभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अगाडि बढाइरहेका बेला सप्तरी क्षेत्र नं. १ मा सम्पन्न अधिवेशनलाई संगठनात्मक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।

अधिवेशनमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि, पूर्वमन्त्री हेमराज ताते, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र पूर्वमहासमिति सदस्य रोजित शेखलगायतका नेताहरू सहभागी भएका थिए।

त्यसैगरी रमेश कार्की, नागेश्वर, प्रसार यादव, उमेश बस्नेत, विनोद दत्त, जिल्ला संयोजक सुरेन्द्रप्रसाद यादवसहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

क्षेत्रीय सभापति र दुवै प्रदेशसभा क्षेत्रका सभापति निर्विरोध चयन भएसँगै क्षेत्र नं. १ मा देउवा पक्षले आफ्नो संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने प्रयास गरेको छ। नवनिर्वाचित नेतृत्वसमक्ष पार्टीका नेता–कार्यकर्ताबीच समन्वय, सहकार्य र एकता कायम गर्दै संगठनलाई थप सुदृढ बनाउने चुनौती र जिम्मेवारी आएको छ।

कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्वको वैधानिकतालाई लिएर विवाद कायम रहेकाले देउवा पक्षको यो अधिवेशनले आगामी दिनमा पार्टीको आन्तरिक राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको