काठमाडौं – भारतीय राजनीतिमा सबैभन्दा बढी समय सत्तामा रहन सफल भएको भारतीय विपक्षी दल कांग्रेस आईको वर्तमान राजनीति निकै दयनीय बन्दै गएको छ ।

दिग्गज नेताहरु हुँदाहुँदै केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश भनेझै २० महिना अनुभवहीन युवा नेता राहुल गान्धीलाई नेतृत्व दिएको कांग्रेसले फेरि पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै जिम्मेवारी सुम्पेको छ ।

निर्वाचनमा दयनीय अवस्था भोगेपछि राहुलले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए । छोराको असफलतापछि फेरि पनि आमा सोनियालाई उक्त जिम्मेवारी दिइएको हो ।

शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले साढे २ महिनासम्म नेतृत्वविहीन बनेको पार्टीलाई फेरि सोनियालाई अध्यक्ष बनाएको हो।

उनलाई अन्तरिम अध्यक्ष तोकिएको हो । कार्यसमितिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि राजीनामा स्वीकार गरी अर्को अध्यक्ष नबनुन्जेल सोनियालाई अन्तरिम रुपमा अध्यक्ष मनोनयन गरिएको हो ।

सोनिया विपक्षी दलहरुको गठबन्धन युपिएकी पनि अध्यक्ष हुन् ।

राहुलको राजीनामापछि उनकी दिदी प्रियंकालाई अध्यक्ष बनाउने चर्चा समेत चलेको थियो। तर चुनावका बेलामा महासचिवको जिम्मेवारी पाएकी प्रियंकाका लागि त्यही पद नै बढी भयो भन्ने चर्चा पनि चलेको थियो ।

अब फेरि कांग्रेसले अर्को अध्यक्ष कहिले चुन्ला तर गान्धी परिवारबाट बाहिर नेतृत्व दिन नसक्नु नै कांग्रेसको सबैभन्दा ठूलो रोग भएको देखिएको छ ।

शनिबार १२ घण्टासम्म बसेको कार्यसमिति बैठकमा सहमति नजुटेपछि ७२ वर्षीया सोनियाले वाध्य भएर अन्तरिम जिम्मा सम्हालेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

राति ११ बजे पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको