एसबी साह
राजविराज – नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा सी जिन्पिङ विचारधाराबारे आयोजना गरेको प्रशिक्षण अनावश्यक भएको तर्क गर्दै एकजना परराष्ट्रविद्ले दुई शक्तिशाली राष्ट्रहरूसँग सीमा जोडिएको नेपालले सन्तुलित कूटनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक श्रीधर खत्रीले बिबिसी नेपाली सेृवा संग कुरा गर्दै नेपालले विश्वको बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने बताए ।
नेपालमा निकट भविष्यमै चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमण हुन लागेको चर्चा चलिरहेका बेला सत्तारूढ नेकपाले सी जिन्पिङको विचारधाराबारे दुईदिने ’प्रशिक्षण कार्यक्रम’ आयोजना गरेको छ ।
प्राध्यापक खत्रीले नेपालले चीनसँग सम्बन्ध विस्तार गरिरहँदा दक्षिणी छिमेकी भारत र विश्व महाशक्ति अमेरिकासहित कुनै पनि मित्रराष्ट्रसँग आफ्नो सम्बन्धमा क्षति पुग्ने गतिविधि गर्न नहुने पनि उल्लेख गरे ।
बिबिसी संगको अन्तवार्तामा खत्रीले नेपालमा बढिरहेकोे चिनियाँ गतिविधिलाई नियाल्दै भने एउटा चिनियाँ बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अघि बढाउने प्रयास र त्यसमा कुनकुन आयोजनामा सहमति कायम गर्न सकिन्छ भनेर केन्द्रित भएको जस्तो लाग्छ।
दोस्रो, पहिले नेकपा एमाले हुँदा पनि र केही हदसम्म माओवादी हुँदा पनि सम्बन्ध बढाउने प्रयास पहिलेदेखि नै भएको हो।
अहिले दुवै दल मिलेर नेकपा भएका छन्। दुवैतर्फ पार्टीका नेताहरू एकअर्काको देशमा जाने परम्परा पुरानै हो ।
चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तक्रिया गर्ने क्रमको थालनी नेपालबाट सुरु गरेको छ ।
यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको बताईएको छ ।
तत्कालीन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत कायम भएको छ ।
नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझदारीमा हस्ताक्षर गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर भएको हो । यसले दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको नेताहरूको दाबी छ ।
दुई मुलुकबीच हुने सम्झौताकै झल्को दिने गरी दुई पार्टीबीचको सहमतिलाई सार्वजनिक गरिएको छ । विगतमा सामान्य ढंगले चलिरहेको सम्बन्धलाई अहिले किन यति धेरै महत्त्व दिइयो ? ‘दुइटा कम्युनिस्ट पार्टीले भाइचारा सम्बन्धलाई मजबुत बनाइरहेको देखिन्छ,’ चीन मामिलाका जानकार एवं चीनका लागि पूर्वराजदूत महेश मास्केले भने, ‘यो कार्यक्रम पार्टी–पार्टी सम्बन्धको पहिलो ठूलो अभिव्यक्ति हो ।’ सीपीसीले यसअघि कम्युनिस्ट पार्टीहरूसँग राख्ने सम्बन्ध यति धेरै खुला हुँदैनथ्यो । पार्टीगत सम्बन्धका आधारमा भ्रमण, प्रशिक्षण आदानप्रदान गरिन्थे ।
औपचारिक रूपमा दुईपक्षीय समझदारी र विचारधारामाथि बहस सञ्चालन गर्ने गरी यस पटक सीपीसी नेपाल आउनुलाई नेकपाकै नेताहरूले पनि नौलो अभ्यास ठानेका छन् ।
‘उनीहरू विगतमा यति भिजिबल भएर आउँदैनथे । उनीहरूले हामीसँगको सम्बन्धलाई अझै गहिरो बनाउन चाहेका छन्,’ द्विपक्षीय हस्ताक्षर समारोहमा सहभागी नेकपा वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसले चिनियाँहरू थप खुलापनमा जान थालेका छन् र आफ्नो सम्पर्क सम्बन्धको प्रभाव पनि विस्तार गर्न चाहन्छन् भन्ने देखाउँछ ।’
चीनले दुई वर्षअघिको १९औं महाधिवेशनबाट ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्दै सी चिनफिङ विचारधारा अंगालेको थियो । यससँगै विश्वव्यापी सम्पर्क सञ्जाल विस्तार गर्ने गरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को रणनीति पनि अगाडि सारेको छ । नेपाल बीआरआईको सदस्य राष्ट्र हो भने यहाँको सत्तारूढ दलले सी विचारधाराप्रति पनि सकारात्मक सहकार्य गर्ने नीति लिएको छ । यही पृष्ठभूमिमा चिनियाँ प्रस्तावमा सी विचारधारामा केन्द्रित दुईदिने वैचारिक अन्तक्रिया राजधानीमा आयोजना गरिएको हो ।
यसअघि नेपाली नेताहरू चीन भ्रमणमा जाँदा पार्टीका गतिविधिबारे जानकारी दिने, पार्टी संगठन निर्माण, अनुशासनलगायत विषयमा छलफल गर्ने गर्थे । प्रधानमन्त्री ओलीले गत वर्ष चीन भ्रमणमा जाँदा सीपीसी केन्द्रीय स्कुललाई सम्बोधन गरेका थिए । अहिले चिनियाँ नेताहरू नै आफ्नो मार्गिनर्देशक सिद्धान्त बुझाउन काठमाडौं आएका छन । राजधानीको एउटा होटलमा सोमबार र मंगलबार भएको सी चिनफिङ विचारधारामाथि चलेको छलफल त्यसैको उदाहरण हो ।
चीनको विदेश र स्कुल विभागका प्रतिनिधिहरूले यो छलफलमा कार्यपत्र पेस गरेका थिए । त्यहाँ नेकपाका तर्फबाट शीर्ष नेताहरूले उद्घाटन सत्रमा आफ्नो मन्तव्य मात्र दिए । नेकपाका तर्फबाट छुट्टै कार्यपत्र पेस भएन । चिनियाँले पेस गरेको कार्यपत्रमा नेकपाका नेता–कार्यकर्ताले जिज्ञासा मात्र राखेका थिए । ‘अहिले उनीहरूको कुरा सुनियो, हाम्रो कुरा त उनीहरूलाई चीनमै गएर सुनाउने हो,’ नेकपा केन्द्रीय सदस्य विजय पौडेलले भने, ‘अहिले चिनियाँहरू धेरै खुल्दै गएका छन्, उनीहरूले यहाँ आफ्नो कुरा सेयर गर्न चाहेका हुन ।’ नेपालमा अहिले चीनको चर्चा र विशेषगरी सी चिनफिङको विचारधारा विस्तार गर्नु खोज्नुको कारण भने बीआरआई परियोजनासँग जोडिने नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालको बुझाइ छ । ‘चीन बीआरआईको पक्षमा अन्तर्रा्ष्ट्रिय जनमत मजबुत बनाउन चाहन्छ । त्यसका लागि उसले सी चिनफिङ विचारधारालाई अघि सारेको छ,’ सी चिनफिङ विचारधारामाथि हालै छुट्टै बहस चलाएका नेता भुसालले भने, ‘अहिले नेपालमा कम्युनिस्ट पार्टी शक्तिशाली छ । कम्युनिस्ट पार्टीको मजबुत सरकार छ । त्यसैले नेपालसँगको सम्बन्ध मजबुत बनाउन चीनलाई सहज छ । त्यही सहजतालाई बुझेर चीनले नेपालको कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई बढ्ता जोड दिएको हो ।’ उनले विगतको भन्दा खुलेर चिनियाँहरू आउनुको उद्देश्य बीआरआई रहेको तर्क गरे । ‘अब सी चिनफिङ विचारधारा यहाँ पनि काम लाग्छ, लागू हुन्छ भन्ने होइन,’ उनले भने ।
दुईदिने छलफलमा सहभागी नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले माओत्से तुङको विचारमा बहस गर्ने कम्युनिस्टहरूका लागि ‘सी विचारधारा’ नयाँ टर्चलाइट भएको बताए । ‘भविष्यका लागि कसरी सोच्ने भन्ने यसले देखाउँछ,’ उनले भने, ‘सी विचारधारालाई उनीहरूले प्रचारप्रसार गर्न चाहेको देखिन्छ ।’ सीपीसीसँगको सम्बन्धलाई जोडेर नेपाल चीनतर्फ ढल्कि सकेको जनतामाझ टिप्पणी पनि हुन थालेको छ ।
विशेषगरी प्रमुख प्रतिपक्षी कांग्रेसले दुई पार्टीबीचको समझदारीलाई शंकाको दृष्टिले हेरेको छ । पूर्वराजदूत मास्के एक अन्तवार्तामा भने ‘कम्युनिस्ट पार्टीको एउटा परम्परा छ, त्यही परम्पराअनुसार यस्तो सम्बन्ध विस्तार भएको हो,’ उनले भने, ‘यसलाई जोडेर नेपालको कम्युनिस्ट पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको स्याटेलाइट भयो भन्न मिल्दैन ।’ सी विचारधारामाथिको छलफललाई नेकपा नेताहरूले स्वागत गरे पनि अवलम्बन गर्ने उद्देश्य भने नरहेको उनीहरूको भनाइ छ । चीनसँगको सम्बन्ध र अहिले भइरहेको विचारधारात्मक छलफललाई प्रधानमन्त्री ओलीले सोमबार दिएको उदघाटन मतव्यले पनि केही संकेत गरेको छ । चीनको अनुभवबाट अधिकतम फाइदा लिने तर आ–आफ्नो मौलिकताअनुसार अघि बढ्ने उनले बताएका थिए ।
प्रधानमन्त्री ओलीले नेपाल बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक बाटोमा हिँडेको र त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको उल्लेख गर्दै यसलाई मार्क्सवादको मौलिक प्रयोगका रूपमा व्याख्या गरेका छन । अर्का अध्यक्ष दाहालले पनि यस्तै अभिव्यक्ति उद्घाटन सत्रमा दिएका छन, जसबाट सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको होइन भन्ने सन्देश दिन चाहेको देखिन्छ । नेकपा सचिवालयका सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेपाल कुनै पनि मुलुकतर्फ नढल्कने उल्लेख गरेका छन । ‘नेकपा कुनै खास देशतिर ढल्कँदैन, हामीलाई राम्ररी थाहा छ कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी मौलिक बाटोबाट अघि बढ्न सकेकाले नै हामी उपलब्धिको यो बिन्दुमा आइपुगेका हौं,’ श्रेष्ठले मंगलबार ट्वीट गर्दै भनेका छन, ‘हामीलाई देशको भूराजनीतिक अवस्थिति र संवेदनशीलता पनि राम्ररी थाहा छ । स्पष्ट होऔं ।’ नेता श्रेष्ठले मार्क्सवादको सार्वभौम सिद्धान्तलाई नेपालको ठोस परिस्थितिमा सिर्जनात्मक रूपमा लागू गर्दै क्रान्तिको मौलिक बाटोबाट अहिलेको उपलब्धि हासिल गरिएको उल्लेख गरेका छन ।







